ओली र देउवा दुवैलाई साथ दिन नसक्ने जानकारी दियौं : महतो

काठमाडाैं । संघीय संसद्को चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)ले विश्वासको मतबारे आफ्नो धारणा स्पष्ट पारेको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर सत्ता गठबन्धनका विषयमा आफ्नो कित्ताबारे जानकारी दिएका हुन्।

अध्यक्ष ठाकुर र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई २७ वैशाखमा विश्वासको मत दिन नसक्ने बताएका छन्। भेटबारे जानकारी दिँदै महतोले भने, “सरकारले हाम्रो माग पनि पूरा गरेन र पार्टी पनि फुट्ने अवस्था आयो, त्यही भएर विश्वासको मत दिन सक्दैनौं भन्यौं।”

अध्यक्ष ठाकुरले भने आफूहरूले ओलीलाई दिएको वचन पूरा गरेको बताएका थिए। प्रतिनिधि सभा पुन:स्थापना भएपछि ओलीले ठाकुरसँग ‘साथ दिन नसके पनि विपक्षी गठबन्धनमा नलाग्न’ आग्रह गरेका थिए। ठाकुरले त्यतिबेला विपक्षीलाई साथ नदिने वचन दिएका थिए।

प्रधानमन्त्री ओलीलाई भेट्नुअघि बुढानीलकण्ठ पुगेर ठाकुर र महतोले नयाँ सरकार गठन गर्दा देउवालाई पनि साथ नदिने बताएका छन्। आफूहरूले विपक्षी गठनबन्धनमा नजाने धारणा राखेको वरिष्ठ नेता महतोले जानकारी दिए।

“हाम्रा पार्टीका साथीहरूलाई सत्ताको लोभ नदेखाउनुहाेस्, पार्टी जोगाउनु छ भन्यौं,” महतोले भने, “देउवाजीले पनि हामी जसपा फुटाउँदैनौं, सिंगो जसपासँगै संवाद हुन्छ भन्ने वचन दिनुभएको छ।”

जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत भने देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *