गण्डकी प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशसभामा जारी विशेष अधिवेशन बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा सोमबारदेखि छलफल सुरु गरिएको थियो ।

मङ्गलबार प्रदेशसभा सदस्यहरुले बोल्ने र बुधबार अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची रहेपनि सत्तारुढ नेकपा (एमाले)का प्रदेशसभा सदस्यहरुले कोरोना भाइरस कोभिड– १९ को परीक्षणको माग गर्दे सदन अवरुद्ध गरेका थिए । मङ्गलबारको बैठकमा एमालेका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएपछि २० मिनेटका लागि बैठक स्थगित गरिएकोमा छलफलपछि बुधबारसम्मका लागि स्थगित गरिएको थियो ।

मङ्गलबारको बैठकमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य राजिव पहाडीले गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड– १९ को सङ्क्रमण बढ्दै गइरहेको, सबै प्रदेशसभा सदस्यहरुले दुई डोज खोप लगाइनसकेकोे, कास्की जिल्लामा निषेधाज्ञा समेत जारी भएकाले सबै सदस्य तथा कर्मचारीको पिसिआर परीक्षणपछि मात्र बैठक बोलाउँन माग गर्नुभएको थियो ।

मङ्गलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सत्तारुढ नेकपा (एमाले)को मागअनुसार सबै प्रदेशसभा सदस्यहरुको पिसिआर परीक्षण गरेर बुधबार बैठक नियमित सञ्चालन गर्ने सहमति भएको संसद सचिवालयले जनाएको छ । बैठकले सबै प्रदेशसभा सदस्यहरुको बुधबार दिउँसो १ बजेसम्म सबै रिपोर्ट आउँनेगरी कोरोना परीक्षण गर्ने, कोही सदस्य कोरोना सङ्क्रमित भए मतदान गर्न पाउँने तर सदनमा बोल्न नपाउँने निर्णय गरिएको नेकपा एमालेका प्रदेशसभा सदस्य कृष्ण थापाले बताउनुभयो ।

गण्डकी प्रदेशमा नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा बैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । ६० सदस्यीय प्रदेशसभा सदस्य रहेको गण्डकीमा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादीका दुई र एक स्वतन्त्र रहेका छन् । हाल मुख्यमन्त्रीका विरुद्धमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ प्रदेशसभा सदस्य रहेका छन् भने राष्ट्रिय जनमोर्चालेपनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *