भारतमा बढेको दाेस्राे लहरकाे कोरोना संक्रमण कति खतरनाक ?

काठमाडाैं । कोरोना संकट एउटा यस्तो आपतकाल जस्ले पछिल्लो एक वर्षदेखि सारा विश्वलाई त्राहीत्राही मात्रै पारेको छैन, शक्ति राष्ट्रहरुलाई समेत मानौ घुँडा टेकायो । अघिल्लो वर्ष जतिबेला विश्वव्यापी कोरोना महामारी चरमविन्दुमा थियो सबैलाई खोप कहिले आउला भन्ने प्रतीक्षा थियो ।

विभिन्न कम्पनीहरुले दिनरात गरेर खोप बनाए र हालै खोप शुरु भएको मात्रै छ । तर युरोपका देशहरुमा जस्तै भारतमा पनि कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको छ । दोस्रो लहरमा फैलिरहेको कोरोना झन् डर लाग्दो छ । खोप लगाएकाहरुमा समेत कोरोनाको संक्रमण देखिन थालेपछि झन् चिन्तित बनाएको छ ।

भारतमा तीब्र गतिमा फैलिरहेको दोस्रो लहरको कोरोना संक्रमण कति खतरनाक छ ? किन यसरी झन्-झन् फैलिरहेको छ महामारी यसबारेमा यहाँ चर्चा गर्न खोजिएको छ ।

भारतमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको उछाल नै देखिएको छ । बिहीबार केन्द्रिय गृहमन्त्रालयले जारी गरेको सरकारी विवरण अनुसार एकै दिन ५३ हजार ४ सय ७६ कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै महाराष्ट्राका संक्रमित धेरै छन्, जहाँ एक दिनमा ३१ ह्जार ८ सय ८५ जनामा संक्रमण देखिएको छ । सरकारी तथ्याङ्क अनुसार भारतमा अहिले ३ लाख ९५ हजार १ सय ९२ सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट बच्नको लागि सबैभन्दा उत्तम उपाय हो खोप भारतमा अहिलेसम्म जम्मा ५ करोड ३१ लख डोज खोप लगाइएको छ । विशेषज्ञहरुका अनुसार कोरोना संक्रमणको जोखिम रोक्न तीब्र गतिमा खोप दिनु जरुरी छ र तर अहिले भारतमा ६० वर्ष भन्दा माथिका बृद्धबृद्धा र ४५ वर्षमाथिका गम्भीर प्रकृतिका बिरामीहरुका लागि मात्र खोप दिइएको छ ।

भारतको विदेश मन्त्रालय स्रोतले बीबीसीलाई बुधवार बताएअनुसार अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि उसले अस्थायी रोक लगाएको छ ।

भारतभित्रै कोभिड भएका मानिसको सङ्ख्या बढ्न थालेको साथै त्यहाँ एप्रिल १ तारिखदेखि ४५ वर्षभन्दा माथिका मानिसलाइ खोप लगाइने भएकाले घरेलु माग धान्न धेरै खोप भारतमै आवश्यक पर्ने बताइएको छ ।

भारतको यो कदमले एप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ।

यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्न सक्ने सम्भावना छ ।

’डबल म्युटेन्ट’ झन् खतरा

भारतका १८ वटा राज्यबाट सङ्कलित नमुनाको परीक्षण गर्दा ’डबल म्युटेन्ट’ अर्थात् दुई पटक उत्परिवर्तित कोरोनाभाइरसको नयाँ प्रकार फेला पारिएको अधिकारीहरूले बताएका छन्।

दश हजार ७८७ नमुना परीक्षण गरिएकोमा ७३६ जनामा यूके भेरिअन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्रजिली भेरिअन्ट देखिएको हो।

भारतमा पछिल्ला दिनमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको तथ्याङ्क आइरहँदा कोरोनाभाइरसका नयाँ प्रकार देखिएको हो।

तर सरकारले नयाँ प्रकार र पछिल्लो सङ्क्रमण दरबीच सम्बन्ध नदेखिएको जनाएको छ । यद्यपी यसले थप चिन्ता भने बढाएको छ ।

सिनियर इन्टरनल मेडिसिन स्पेशलिस्ट स्वाती महेश्वरी भन्छिन्, ‘कोरोना भाइरसको ’डबल म्युटेन्ट’ले हामीलाई थप चिन्तित बनाएको छ । यसैका कारण एकातिर तीब्र गतिमा फैलिरहेको छ भने खतरा पनि उत्तिकै बढाएको छ किनकी यसरी परिवर्तन भएको भाइरसमाथि खोपले काम नगर्न पनि सक्छ किन कि परिवर्तित स्वरुपमा उसले बचाउ सिक्छ । आउने दिनमा खोपको प्रभाव पनि कम पर्न सक्छ ।’

नयाँ प्रकृतिको कोरोना संक्रमण भभएका संक्रमितहरुमा नयाँ नयाँ लक्षणहरु पनि देखिएको उनले बीबीसीसँगको कुराकानीमा बताएकीछिन् । थकान महसुस हुनु, मांसपेसीमा दुखाई, नाकबाट रक्तश्राप हुनु, कतिपयलाई चक्कर समेत लाग्ने लगायतका लक्षण देखिए सचेत रहनुपर्ने उनको भनाई छ ।

‘संसारमा अहिलेसम्म जतिपनि महामारीहरु देखिएका छन् ती सबैका सेकेण्ड वेव बढी खतरनाक देखिएका छन् । स्पानिस फ्लूको महामारीमा पनि दोस्रो वेवमा धेरै मानिसहरुको मृत्यु भएको थियो’ उनले भनिन्, ‘युरोपेली देशमा पनि सेकेण्ड वेवमा अवस्था बढी खराब देखिएको छ। कतिपय देशमा त लकडाउन पनि जारी गर्नु परेको थियो । त्यसैले बढी सतर्क हुन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *