हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
ओलीको स्पष्टीकरणपत्रबाट तर्सिन्नाै भन्दै नेपालले भने ‘एमाले हाम्रो हो, केपी ओली पार्टी छाडेर गए हुन्छ’
काठमाडाैं । सत्तारूढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिएको बताएका छन् ।
मंगलबार आफूपक्षका विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले स्पष्टीकरणको सामना गर्न तयार रहेको बताएका हुन् । उनले केपी ओलीले पठाएको स्पष्टीकरणपत्रलाई ‘कथित स्पष्टीकरण’ को संज्ञा समेत दिएका छन् ।
आफूहरु ओलीकोसामु घुँडा टेक्न वा आत्मसमर्पण गर्न तयार नभएको स्पष्ट पार्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजतन्त्रसँग साँठगाँठ गरेको आरोप समेत लगाएका छन् । ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन, अप्रत्यक्ष सहयोग गरुन हामी राजतन्त्र फर्किन दिँदैनौं,’ उनले भने ।
मंगलबार मात्र एक नेताले आफूलाई भेटेर ‘कमरेड केपी ओलीसँग मिल्नुस्, जेजे कारबाही नै गरे पनि सहिदिनुस्’ भनेको भन्दै उनले सहभागीहरुलाई प्रश्न गरे, ‘के हामी घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ?’
(हलबाट होइन भन्ने चर्को अवाज आयो) उनले पनि भने, ‘यो हामीलाई किमार्थ मन्जुर छैन । केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौं, आतंकित भएका छैनौं । त्यसको सामना गर्न तयार छौं ।’
तत्कालीन राजा वीरेन्द्र, राजा ज्ञानेन्द्रका साथै कांग्रेसका नेताहरुसँग डिल गरेको, विदेशीका दबावसामु नझुकेको र पार्टीमा आएका हरेक सामस्या सामना गरेरआफू यहाँसम्म आएको भन्दै उनले भने, ‘कस्ता कस्ता कहाँ आए, केपी ओली मेरो सामुन्नेमा । केपी ओलीसँग लड्नु ठूलो कुुरा होइन ।’
‘यिनका चुरीफुरीहरु प्रधानमन्त्रीको कुर्सीमा बस्दासम्म मात्र हो । जब प्रधानमन्त्रीको कुर्सीबाट सडकमा उत्रिनेछन्, केपी ओली प्रवृत्तिको हावा खुस्किनेछ ।’
२२ सालमा राजनीतिमा होमिएको आफू बाधा पन्छाउँदै नदी अगाडि बढेजस्तै अगाडि बढेको उनले सुनाए । यो ठाउँसम्म आउन साथ दिएको भन्दै केही नेताको नाम लिए । कतिले साथ छाडेको भन्दै उनले भने, ‘ठाउँमा पुर्याइएकाले धोका दिएकाहरु पनि सम्झिइरहेको छु ।’
नेता नेपालले अघि भने, ‘हामी तर्सिएका छैनौं, मैदान छोडेर भाग्ने वाला पनि छैनौं । पार्टी पनि फुटउँदैनौं । पार्टी फुटाउँछन् भने केपी ओलीले फुटाउँछन् ।’
पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई बेग्ला–बेग्लै स्पष्टीकरण पत्र काटेर सम्बन्धित नेताको घर–घरमै पठाइएको छ । १० बुँदे स्पष्टीकरण पत्र काटेपछि नेपाल पार्टी नेतृत्वप्रति अझ आक्रामक देखिएका छन् ।