हैदरावादमा पाइने ‘दम’ बिरयानी विराटनगरमा

अन्जना पराजुली
विराटनगर । पछिल्लो समयमा विराटनगरमा बिरयानी खाने प्रचलन बढेको छ । कुनै समयमा यहाँका मानिसहरु भारतको दिल्ली, फारबिसगञ्ज, लखनाउ जाँदा खाने बिरयानी यहीँ खान पाउँदा दङ्ग छन् ।

केही वर्ष पहिले यहाँका मानिसहरु काठमाडौँ जाँदा बागबजारस्थित पाकिजा होटेलमा बन्ने बिरयानी खाएर साबुनले हात पनि धुँदैनथे, किनकी साबुनपानीले हात धुँदा बासना पखालिन्थ्यो । यही बासनाका लागि पनि मानिसहरुले हात साबुनले धुँदैनथे । काठमाडौँको बागबजारस्थित पाकिजा होटेल बिरयानीका लागि प्रख्यात मानिन्छ र यसका पारखीहरु काठमाडौँ जाँदा एकपटक बिरयानीको स्वाद लिन पछि पर्दैनन् ।

खास गरेर मुस्लिम समुदाय अत्यधिक मन पराउने बिरयानी अहिले सबै समुदायका मानिसका लागि लोकप्रिय भएको छ । आ–आफ्ना जन्मदिन मनाउँदा युवायुवती बिरयानी हाउस रोज्छन् र बिरयानी खाएर एकले अर्कालाई शुभकामना दिन्छन् । बिरयानी हाउस युवायुवतीका लागि भेटघाट गर्ने स्थलका रुपमा पनि विकसित हुनुले यो व्यापारमा लाग्ने मानिस पनि उत्साहित भएका छन् ।

प्रदेश नं १ को राजधानी विराटनगरमा विभिन्न खानाका परिकारहरु पाइने होटेलहरु सञ्चालनमा आएको भए पनि अहिले बिरयानी हाउसहरु पनि एक दर्जनभन्दा सञ्चालनमा आएका छन् । शुरुशुरुमा ठूल्ठूला रेस्टुरेन्ट (भोजनालय) मा मात्र पाइने बिरयानी अहिले सर्वसाधारण नागरिकको पनि पहुँच पुगेको पाइएको छ । पहिला धनीले खाने यो परिकार अहिले विपन्न र गरीब मानिसका लागि सहज भएको छ ।

खासगरेर कोभिड–१९ ले महामारी रुप लिएपछि रोजगार गुमाएका युवाहरु यस पेशामा आकर्षित भएकाले बिरयानी हाउसको सङ्ख्या उल्लेखनीयरुपमा बढेको पाइन्छ । पछिल्लो समयमा विराटनगरमा एक दर्जनभन्दा बिरयानी हाउसहरु सञ्चालनमा आएका छन् । सञ्चालित बिरयानी हाउसको आ–आफ्नै शैली छन् । कोही चिकेन त कोही मटन बिरयानी बनाएर ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेका छन् । बिरयानी हाउसबाटै राम्रो आम्दानी गर्न सफल भएपछि उनीहरुले यसलाई नै व्यवसायको मुख्य स्रोत मानेका छन् ।

विराटनगरका सबैभन्दा पुराना होटेल गुद्री बजारस्थित बिरयानी प्वाइन्टले ४० वर्षदेखि होटेल व्यवसाय गर्दै आएको छ भने लगभग दुई वर्षदेखि बिरयानी बनाउन थालेपछि सुक्न लागेको व्यापार पुनः मौलाएको सञ्चालक मक्सुद खानले जानकारी दिनुभयो । उहाँले बनाउने बिरयानी ग्राहकहरुको इच्छाअनुसार हुन्छ । ग्राहकले जस्तो रुचि राख्छन्, त्यस्तै बिरयानी बनाएर सेवा गर्न पाउँदा खुशी लाग्ने गरेको सञ्चालक खानको भनाइ छ । यो बिरयानी हाउसमा मुस्लिमहरुको साप्ताहित प्रार्थनाको दिन शुक्रबार अत्यधिक बिक्री हुन्छ ।

शुक्रबार भ्याइनभ्याइ हुन्छ, अरू दिन त लगभग ५० देखि ६० जना ग्राहक बिरयानी खान आउने गरेको खानले जानकारी दिनुभयो । उहाँले प्रतिप्लेट रु १०० को दरले चिकेन बिरयानी बेच्दै आइरहेको बताउनुभयो । परिवारका सदस्यबाट सेवा गराउने यो बिरयानी हाउसले महिनामा राम्रै आम्दानी हुने गरेको खानको भनाइ छ ।

यस्तै विराटनगर महानगरपालिका–९ ट्राफिक चोकमा रहेको द रोयल बिरयानी हाउस पनि एक वर्षअघि सञ्चालनमा आएको छ । विदेशबाट बिरयानी बनाउने सीप सिकेर स्वदेशमै बिरयानी हाउस सञ्चालन गर्ने उद्देश्यले अमिर लिम्बूले सञ्चालन ल्याएको यो बिरयानी हाउस सञ्चालन गर्न करीब रु १५ लाख खर्च भएको सञ्चालक लिम्बूले जानकारी दिनुभयो । उहाँले मटन र चिकेन दुवै प्रकारका बिरयानी बनाउनु हुन्छ । चिकेनको भन्दा मटन बिरयानीको दाम अलिक बढी लाग्ने गरेको सञ्चालक लिम्बूले भन्नुभयो । उहाँ भन्नुहुन्छ, “एकपटक बिरयानीको स्वाद पाइसकेका मानिसले फेरि कहिले खाने प्रतीक्षा रहन्छ, यो नै हाम्रो सुखद र खुशीको कुरा हो ।”

यस्तै विराटगर भाटभटेनी सुपरमार्केट छेउमा रेड चिल्ली बिरयानी हाउस सञ्चालन गर्दै आउनुभएका राजु खानले आफूले तीन वर्षदेखि यो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रु पाँच लाखमा सञ्चालनमा ल्याएको यो बिरयानी हाउसबाट राम्रै आम्दानी हुन्छ, खासगरी उत्सव, पर्व र बिदाको दिन बिरयानी खान आउने मानिसहरु बढी हुन्छन् ।” शुरुआती दिनमा कतिपय मानिसलाई बिरयानी भनेको थाहासमेत नहुने गरेको उहाँले बताउनुभयो तर अहिले हरेक मानिसको रोजाइमा बिरयानीको स्वाद मन पर्न थालेको छ । बच्चादेखि वृद्धसम्मले बिरयानी एकदमै मन पराएर खाने गरेको उहाँको भनाइ छ ।

उहाँले आफू मुस्लिम समुदायमा जन्मेकाले बिरयानी बनाउन अन्त कतै जान नपरेको बताउनुभयो । आफ्नो घरमा आमाले बिरयानी पकाउने भएकाले आफूले आमाले बनाएको हेरेर नै बिरयानी बनाउन सिकेको जानकारी दिनुभयो । उहाँले बनाउने ‘दम’ बिरयानीमा ४८ प्रकारका मसलाहरु मिसाइएको हुन्छ । भारतको हैदरावादमा मात्र पाउने ‘दम’ बिरयानी बनाएर ग्राहकलाई आफ्ना व्यवसायतर्फ आकर्षित गराउन सफल हुनुभएको छ । विराटनगरमा पाइने बिरयानी निकै सस्तो भएकाले जो कोही पनि हप्तामा एक दिन बिरयानी खान योजना बनाइहाल्छन् ।

उहाँको रेस्टुराँमा मटन र चिकेन दुवै किसिमको बिरयानी खान पाइन्छ । उहाँ भन्नुभयो, “पसलमा भीड लाग्ने गरेकाले दुईजनालाई रोजगार पनि दिएको छु र यो पेशाबाट सन्तुष्ट छु ।” उहाँले प्रतिप्लेट मटन बिरयानी रु १५० र चिकेन बिरयानी रु ८० दरले बेच्नु हुन्छ । भाटभटेनी सपिङमलमा खरीद गर्न आउने ग्राहकहरु एकपटक आफ्नो रेस्टुराँमा पनि छिर्ने गरेकाले व्यापार राम्रो चलेको उहाँ बताउनुहुन्छ ।

यस्तै विराटनगर मुख्य बजार ट्राफिक चोक छेउमा चार महिनादेखि सञ्चालनमा आएको अरबियन बिरयानी हाउसका सञ्चालक अज्नान अलीले हालै आफूले रु आठ लाख लगानी गरेर यो व्यवसाय सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । यहाँ बिहान १० देखि राति ९ बजेसम्म बिरयानी खान आउने ग्राहकको भीड लाग्ने गर्दछ । भर्खर शुरुआत गरेको भए पनि व्यापार राम्रो हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले ग्राहकले माग गरेमा उनीहरुको घरसम्म पु¥याउने व्यवस्थासमेत रहेको बताउनुभयो । यहाँ चिकेन प्रतिप्लेट रु १५० का दरले बिक्री हुने गरेको छ ।

ठाउँ सफा र कामदार पनि सफसुग्घर भएर बस्नाले यहाँ अन्य ठाउँको भन्दा फरक देखिएको छ । उहाँले बिरयानी बनाउनका लागि लखनउबाट तालीम लिएर आएका कुकलाई रोजगार दिनुभएको छ । ग्राहकलाई सेवा दिने अन्य पाँचजना सहयोगी पनि राराखिएको छ । यहाँ बनाइने बिरयानीमा थकाली बास्मती चामल र अन्य मसलाहरु प्रयोग गरिने भएको फरक स्वादको अनुभूति गर्न पाइन्छ । अरबियन बिरयानी हाउसमा बिरयानी खाना आउनुभएको विराटनगरकी सीमा यादव भन्नुहुन्छ, “यहाँको बिरयानी मलाई निकै स्वादिष्ट लाग्यो, म यो हाउसको नियमित ग्राहक हुँ, बिरयानी खाएको मज्जा नै बेग्लै छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *