फेरिदै नेकपाबाट निर्वाचित सांसदको हैसियत, यस्तो छ नयाँ विकल्प

काठमाडौँ । सर्वोच्चको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि पार्टी एकतापछि नेकपाबाट निर्वाचित भएकाहरुहरुको हैसियत अव स्वतन्त्र हुने भएको छ ।

एमाले एमालेतिर माओवादी केन्द्र माओवादीतिर भएपछि पार्टी एकतापछि नेकपाबाट निर्वाचित भएकाहरुको कुन पार्टीका हुन् भन्ने प्रश्न उब्जाएको थियो । यो धेरैको चासोको विषय पनि बनेको थियो ।

यो अन्यौल बारे प्रष्ट्याउँदै निर्वाचन आयोगका अधिकारीले गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने बताएका छन् । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ ।

प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पद तल माथि हुँदैन, उपयुक्त निरुपण गरिन्छ । त्यसका लागि महान्यायाधिवक्ताको सुुझाव पनि लिन सकिन्छ ।” उहाँले कानुनमा स्पष्ट व्यवस्था नभएकाले अहिल्यै आयोगले केही नभन्ने बताउनुुभयो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउने २०७५ जेठ २३ को निर्वाचन आयोगको निणर्यलाई सर्वोच्च अदालतले उत्प्रेषणको आदेशबाट बदर गरेको छ ।

एकीकरणपछि २०७६ भदौ १५ मा नयाँ दर्ता भएको नेपाल कम्युुनिस्ट पार्टी (माओवादी केन्द्र) र २०७७ असार २० गते दर्ता भएको नेपाल कम्युुनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) दुुई दल पनि समस्यामा परेका छन् ।

अबको प्रक्रिया के हुन्छ ?

जब एमाले र माओवादी केन्द्रलाई आयोगले पुरानै अवस्थामा फर्केको पत्राचार गर्छ, त्यसपछि उपनिर्वाचनमा निर्वाचित जनप्रतिनिधिले एमाले वा माओवादी केन्द्रमा प्रवेश गर्दा उनीहरूको पद कायमै रहने छ ।

राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा १६ जना उम्मेदवार विजयी भएका थिए । यी १६ जना सांसदको हैसियत पनि स्वतन्त्र हुने र उनीहरू पछि अर्को पार्टीमा प्रवेश गर्दा पद नजाने आयोगका अधिकारीहरु बताउँछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *