निर्वाचन तयारी : तालीम, मतदाता अद्यावधिक र केन्द्र अनुगमन

काठमाडाैँ । जिल्ला निर्वाचन कार्यालय निर्वाचनको तयारीमा जुटेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेको थियो । कार्यालयले जिल्लाका १५ वटै पालिकाबाट सहायक नाम दर्ता अधिकारी नियुक्ति गर्ने, मतदाताको नामावली तयार गर्ने र मतदानस्थल व्यवस्थित गराउने कार्यलाई अगाडि बढाएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अधिकारी तुलसीकुमार नेपालले स्थानीय तहले तोकेर पठाएका सहायक नाम दर्ता अधिकारीलाई माघ ११ गतेदेखि तालीम दिइने र माघ १५ गतेदेखि २१ गतेसम्म पालिकाभित्रै मतदाता दाबी विरोधसहित अद्यावधिक गरिने जानकारी दिनुभयो । उहाँले विसं २०७४ भदौ २० गतेसम्ममा पाँच लाख ८५ हजार २३६ मतदाता रहेकोमा हाल बढेर छ लाख १३ हजार ३१२ (२८ हजार ७६ ) हुने अनुमान गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले मतदानस्थल तथा केन्द्रको अनुगमन गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । समितिले स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलको समन्वयमा भूगोल हरेर जनतालाई पायक पर्ने स्थानमा मतदानस्थल तथा केन्द्र थप गरिने निर्वाचन अधिकारी नेपालले जानकारी दिनुभयो ।

उहाँले विगतमा झापामा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकोमा यसपालि मतदान केन्द्र अनुमानित ७१४ सम्म हुन सक्ने र केही स्थलसमेत थप हुने बताउनुभयो । उहाँका अनुसार मतदाता परिचत्रपत्र भने निर्वाचनको पाँच दिन अघिदेखि अघिल्लो दिनसम्म मतदानस्थलबाट वितरण गरिनेछ ।

लमजुङ–बेँसीशहरमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सिफारिस समितिको बैठकले निर्वाचन तयारी अघि बढाएको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले निर्वाचन गतिविधिलाई थप विस्तार गर्ने निर्णय गरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख सिर्जना मिश्रका अनुसार समन्वय समितिका प्रमुख लोकराज पाण्डे, आठवटै पालिका प्रमुख तथा प्रतिनिधि र सबै राजनीतिक दलका प्रमुखलाई उपस्थिति गराएर आवश्यक छलफल गरिएको हो ।

यसअघिको सङ्घीय तथा प्रदेश चुनावमा जिल्लामा १२३ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेको थियो । आगामी हुने लागेको मध्यवधि चुनावमा मतदानस्थल सोही सङ्ख्यामा हुने र मतदान केन्द्र भने १७३ हुने कार्यालय प्रमुख मिश्रले बताउनुभयो । त्यतिबेला निर्वाचनमा एक लाख १५ हजार ४४९ मतदाता रहेका थिए । आगामी निर्वाचनमा अनुमानित एक लाख २४ हजार २६१ मतदाता हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गत पुस ५ गतेभित्र १८ वर्ष उमेर पुगेकाको फोटोसहित मतदाता नामावली दर्ता गराएको छ ।”

जिल्लाका आठवटै पालिकामा सहायक नाम दर्ता अधिकारी नियुक्ति गर्नका लागि कर्मचारीको विवरण माग गरिसकेको जिल्ला निर्वाचिन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यही माघ ११ गतेसम्ममा सहायक नाम दर्ता अधिकारी छनोट गरिसक्नुपर्नेछ । त्यस्तै सबै पालिकामा यही माघ १५ गतदेखि २१ गतेसम्म मतदाता नामावाली दाबी विरोध, नाम त्रुटि भए नभएको हेर्नेलगायत कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगबाट निर्देशन आएअनुसार नै निर्वाचनको तयारी अघि बढाउन लागिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख मिश्रले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *