माघे संक्रान्ती पर्व मनाइँदै, मगरकाे ‘माघे सकराती’ थारूकाे ‘माघी’

काठमाडाैँ । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको हाे । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लाग्ने गर्दछ ।

यस्तै मगर समदायले पनि आज माघे सकराति मनाउँदैछन् । मगर समुदायले यस पर्वलाई चेली पुज्ने पर्वका रुपमा मनाउने गरेका छन् । यसैदिन पितृका नाममा श्राद्धका रुपमा खचिडी चढाउने पनि चलन छ । वर्षे विशेष सांस्कृतिक कार्यक्रम गरि मनाउने गरिएकोमा यस वर्ष भने कोरोना महामारीका कारण त्यस्ता कुनै औपचारिक कार्यक्रमहरु आयोजना गरिएका छैनन् । सरकारले आज माघी मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।

यस्तै थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा थारु, छन्त्याल र मगर समुदायको महान् पर्व माघीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले देशविदेशमा रहेर यस पर्वलाई मनाउने सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै यस्ता पर्वका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *