सूर्यले राशी बदल्दै, सूर्य उत्तरायण हुँदा के हुन्छ ?

काठमाडौँ । आज माघ एक गते, अर्थात माघे सक्रान्ति आजदेखि सूर्यले राशी स्थान बदल्दैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लाग्ने गर्दछ ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शैयामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि नै शुरु भइसकेको छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *