राजधानीमा दुई र नाममा एक संशोधन प्रस्ताव दर्ता

बुटवल । प्रदेश ५ प्रदेश सभाको बैठक आज दिउँसो प्रदेश सभा भवन बुटवलमा बस्दैछ । आजको बैठकले प्रदेश सरकारले शुक्रवार प्रस्तुत गरेको प्रस्ताव उपर मतदान गर्ने कार्यतालिका छ ।

प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका र नाम लुम्विनी राख्न प्रदेश सभामा प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि आज बोलाइएको प्रदेश भा बैठकमा मतदान गर्ने तालिका रहेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

आज बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने तालिका समेत छ ।

उता प्रदेश सभामा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा दुईवटा संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार नाम लुम्बिनी फेर्ने सम्बन्धमा एक संशोधन प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गर्नुभएको छ । कांग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रस्ताव दर्ता गराउनु भएको छ ।

उहाँले पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीचभागमा राजधानी तोक्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराउनु भएको हो ।

त्यसअघि सोमबार नामाकरण सम्बन्धमा जनता समाजवादी पार्टीको तर्फवाट संसदीय दलका नेता सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *