प्रदेश ५ सरकारले ११ पदकबाट ५८ जनालाई विभूषित गर्ने

पाल्पा । संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले ११ विधाका विभिन्न क्षेत्रका ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ । दिवसको अवसरमा बुटवलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा पदक प्रदान गरिनेहरुको नाम घोषणा गरिएको थियो ।

घोषित पदक तथा विभूषण प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते प्रदान गरिने छ । प्रदेश सरकारले दिने सबैभन्दा उच्च स्तरको पदक बुद्ध शान्ति पदकबाट मरणोपरान्त आचार्य भिक्षु अमृतानन्द महास्थवीरलाई प्रदान गरिने भएको छ ।

बौद्धधर्मको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको र म्यानमार सरकारबाट महानायक पदवी समेत प्राप्त गरेको योगदानको आधारमा पाल्पाका भिक्षु अमृतानन्दलाई बुद्ध शान्ति पदक प्रदान गरिने प्रदेश सरकारले जनाएको छ।

त्यसैगरी प्रदेश प्रमुख जनसेवा पदक ६ जनालाई प्रदान गरिने भएको छ । बञ्जाडीको किसान आन्दोलको अगुवाको रुपमा काम गरेका दाङका गुमराह थारुलाई प्रदेश प्रमुख जनसेवा पदक कबाट सम्मानित गर्न लागिएको हो। प्रदेश प्रमुख जनसेवा पदक खबाट प्युठानका खगुलाल गुरुङ र रोल्पाका तेजमान घर्ति लाई विभूषित गरिने भएको छ ।

गुरुङलाई प्युठानको वाम आन्दोलनमा अगुवा कार्यकर्ता भई गणतन्त्र स्थापनाका लागि योगदान गरेकाले पदक दिने सरकारले जनाएको छ । प्रदेश प्रमुख जनसेवा पदक ग सशस्त्रद्वन्द्वमा मृत्यु भएकी रुकुमकी धनमाया श्रेष्ठ, पाल्पाका केवल गाहा मगर र राज्यद्वारा बेपत्ता बनाइएका कृष्ण थारुलाई प्रदान गरिने भएको छ ।

त्यसैगरी मुख्यमन्त्री प्रज्ज्वलदीप पदक क प्रदेश सभामा तत्कालीन विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलाई (मरणोपरान्त) प्रदान गरिने भएको छ ।

मुख्यमन्त्री प्रज्ज्वलदीप पदक खबाट दाङका माणिकलाल गौतम, पाल्पाका चिनियालाल बज्राचार्य, पाल्पाका तत्कालिन जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल (मरणोपरान्त) विभूषित गरिने भएको हो । मुख्यमन्त्री प्रज्ज्वलदीप पदक ग सशस्त्रद्वन्द्वमा घाइते भएका दाङका मनोज चौधरीलाई प्रदान गरिने भएको छ ।

प्रदेश सेवा समर्पण पदक क लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्ट डा. राजेन्द्र प्रसाद खनाल, प्रदेश सेवा समर्पण पदक ख भिम अस्पतालका डा. सुमित प्रजापति, गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्ट डा. उत्तम पच्या, भेरी अस्पताल बाँकेमा कार्यरत बसुन्धरा ज्ञवाली गौतम, भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर ध्रुब धिताल, जिल्ला समन्वय समिति पूर्वी रुकुममा कार्यरत विमला रोक्का श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यारत सुमितकुमार अग्रहरी, आइसोलेसन केन्द्रमा योग सिकाउने रुपन्देहीका विष्णु आचार्य, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेमबहादुर गौतमले पाउने भएका छन ।

त्यसैगरी प्रदेश सेवा समर्पण पदक ग प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत लक्ष्मण पन्थी, कपिलवस्तु अस्पतालकी आयुस्मा अर्याल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत योगेन्द्रनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ।

सुरक्षाकर्मीहरुलाई प्रदान गरिने उजिरसिंह दीप पदक खबाट प्रदेश प्रहरी कार्यालयका अभयकुमार झालाई प्रदान गरिने भएको छ ।

उजिरसिंह दीप पदक गबाट जिल्ला प्रहरी कार्यालय बाँकेका डिल बहादुर सिंजाली मगर इलाका प्रहरी कार्यालय बुटवलका फुलेराम थारु, जिल्ला प्रहरी कार्यालय दाङका प्रभु सुनारलाई विभूषित गरिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *