सिट क्षमता अनुसार नै आन्तरिक हवाई उडान सञ्चालन गरिने

काठमाडाैँ । सिट क्षमता अनुसार नै सोमबारबाट आन्तरिक हवाई यात्रा शुरु गरिने भएका छ । त्यसका लागि यात्रुहरूका लागि नयाँ नियम तय गरिएको छ । नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ। यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाई बुझाउनुपर्ने छ।

यस्तै यात्रुले पालना गर्नुपर्ने नियमका विषयमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्नेछ। विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्नेछ।

सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ। अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्नसक्ने छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। मन्त्रालयले लकडाउन अघिको एयरलाइन्सहरूको बजार हिस्साको आधारमा उडान तालिका स्वीकृत गरी उडान शुरू गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

एयरलाइन्सहरूले लकडाउन अघि भइरहेको उडानको २५ प्रतिशतमात्र उडान हुनेगरी पाँच गतेदेखि एक महिनाको उडान तालिका स्वीकृत गर्नुपर्ने छ। यसो हुँदा एयरलाइन्सहरुले आफ्नो बजार हिस्साअनुसार उडान तालिका पाउने छन्।

यसअघि जहाजका आधा सिटमा मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारले निर्णय गरेको भएपनि मन्त्रालयले भने एयरलाइन्सलाई भौतिक दुरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरिदिएको छ। एयरलाइन्सहरुले आधा सिट खाली राखेर व्यावसायिक उडान गर्न नसकिने बताउँदै आएका थिए। अहिले भने मन्त्रालय पूर्ण क्षमतामा जहाज चलाउन दिन सहमत छ । सोहीअनुसार मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई परिपत्र पठाएको छ । सो परिपत्रमा सीट क्षमताबारे कुनै विषय उल्लेख गरिएको छैन ।

सो परिपत्रमा असोज १५ गतेसम्मको लागि वायुसेवा सञ्चालकहरुलाई लकडाउनअघि ओगटेको बजारहिस्सा अनुसार २५ प्रतिशत उडान हुनेगरी तालिका स्वीकृत गर्न भनेको छ । त्यस्तै, आन्तरिक हवाई यात्राका लागि बोर्डिङ पास लिनुअघि यात्रुहरुले हेल्थ डिक्लियरेसन फर्म भरेर सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनुपर्ने र सोही बमोजिम प्राधिकरणले सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, विमानस्थलमा भिड हुन नदिन मौसम, प्राविधिक समस्या आदिका कारण उडान ढिलो हुने वा स्थगित हुने अवस्थामा ग्रुप एसएमएसमार्फत् सकेसम्म छिटो जानकारी दिनुपर्ने, यात्रुहरुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, चालक, सहचालकहरुले मास्क भाइजर र पञ्जा अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले चार्टर्ड उडानको हकमा भने लकडाउनअघिकै अवस्था बमोजिम हुने व्यवस्था गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *