थप ९२७ जना कोरोना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसँगै देशभरि संक्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६ हजार ४ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप संक्रमित मध्ये ४ सय १५ जना काठमाडौँ उपत्याकाका रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् । यो उपत्यकाका तीन जिल्लामा पुष्टि भएका संक्रमितको सर्वाधिक दैनिक वृद्धि हो ।

यस अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो । एक चिनियाँ नागरिकसहित देशभरि १९५ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन् ।

अहिले देशभरि १६ हजार १९ जनामा सक्रिय संक्रमण भएको मन्त्रालयका प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो । चौबीस घण्टाको अवधिमा १० हजार २ सय २९ वटा नमुनाको परीक्षण गरिएकोमा १६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

अहिलेसम्म २० हजार २४२ संक्रमितहरू निको भइसकेको सरकारको तथ्याङ्कमा उल्लेख छ । देशभरि क्वारन्टाइनमा ८ हजार ९३९ जना छन् । तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा हुनेको सङ्ख्या बढी छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *