कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

काठमाडौँ । समुदायस्तरमा फैलिएको कोरोना भाइरको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको मृत्यु भएको छ । एक महिला र दश पुरुषको कोरोना भाइरसका कारणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्मकै तथ्याङ्कमा २४ घण्टामा सबैभन्दा धेरैको मृत्यु भएको यो पहिलो घटना हो ।

त्यसरी मृत्यु हुनेमा काठमाडौं, ललितपुर, चितवन, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, मकवानपुर, दोलखा र प्यूठानका एक एकजना सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यस्तै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको सङ्ख्या संख्या ३० हजार ४८३ पुगेको छ ।

थपिएका संक्रमित मध्ये २ सय ९२ महिला र ५ सय ४६ जना पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमा १२ हजार २३४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८८९ पीसीआर परीक्षणमा भएको थियो ।

बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २५० जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १८ हजार २१४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिरहेको बेलामा आइसीयूमा १ सय ३३ जनाको उपचार भइरहेको छ । त्यस्तै वागमती प्रदेशमा मात्रै १५ जना विरामी भेन्टिलेटरमा छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *