आज तीज, टेम्पल बन्द टिकटकमा नाच्दै चेली

काठमाडाैँ । आज भाद्र शुक्ल तृतिया अर्थात, हरितालिका तीज ।  हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गरि तीज मनाउँदैछन् । चार दिनसम्म मनाइने तीज पर्वको आज मुख्य दिन हो ।

आजको दिन काठमाडौंको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, काभ्रेको साँगालगायत महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको बिहानैदेखि भीड लाग्ने गरेता पनि यो वर्ष भने कोरोनाको त्रासका कारण सुनसान भएका छन् ।

पशुपति क्षेत्र विकास कोषले मन्दिर नआउन आग्रह नै गरेको छ । काेराेना त्रासले मन्दिर बन्द भएपछि यसपाली छमछमी नाच्ने धाेकाे पूरा गर्न नपाएका चेलीहरू  टिकटकमा भए पनि घरमै नाचेकाे भिडियाे हालेर रमाइ रहेकाे सामाजिक सञ्जालहरू तिर देखिदै छ ।

तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतिहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । तीजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले ब्रतालु महिलाहरुले अघिल्लो दिनको मध्यरातमै मिठा परिकार बनाएर दर खाएका थिए ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । पूजाआजा सकेपछि तीजका गीतमा नाचगान गर्ने चलन छ ।

तीज पर्वलाई महिलाहरुको मनको वह पोख्ने अवसरको रुपमा लिने गरिन्छ । हरितालिका तीजको पर्सिपल्ट पन्चमीका दिन अरुणधतीसहित सप्तऋषिको पूजा गरेपछि तीज सकिन्छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *