अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो १७ जना अझै बेपत्ता

अछाम । जिल्लाको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै कैलाशखोलामा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।

बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको छ ।

उता, बाजुराको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै पहिरोमा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका–५ की तीन वर्षीया सनिका बुढा रहेकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही घरकी पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन् ।

त्यस्तै राति घट्ट पिस्न गएको समयमा बाजुराको बूढीनन्दा नगरपालिकामा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । घट्ट पिस्न गएको समयमा बड्डीगढ नदी बढेर गएसँगै मृत्यु भएको हो । मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–६ की भीनु ल्वार रहेकी छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *