पाल्पामा राष्ट्रिय परिचय पत्र विवरण संकलन सुरु

पाल्पा, ५ साउन ।
सुनिल कार्की ।
पाल्पामा आज देखि राष्ट्रिय परिचय पत्रको विवरण संकलन अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा छुटै युनिटको स्थापन गरि संकलन अभियान सुरु गरिएको हो । व्यक्तिगत घटना जस्तै जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्न,सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धी काम गर्न राष्ट्रिय परिचय पत्र प्रभावकारी हुने छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले कार्यक्रमको बारेमा जानकारी दिदै राष्ट्रिय परिचय पत्रको महत्व र उपयोगिताको बारेमा प्रकाश पार्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी न्यौपानेले नेपाली नागरिकको वैयिक्तक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गर्न राष्ट्रिय परिचयपत्रले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
उहाँले नागरिकका सूचना विवरणहरु एकीकृत रुपमा राख्न र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा आवद्व गरी परिचयपत्र उत्पादन, वितरण ,सेवा आवद्धता उपयोगिता,कानून र सङ्गठनको निरन्तर सुधार गर्न राष्ट्रिय परिचय पत्रले सहयोग पुग्ने जानकारी दिनुभयो ।

विवरण संकलन कार्यक्रममा प्रदेश नंम्बर ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य,विर बहादुर राना,तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाही,पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालको विवरण संकलन गरि सुरुवात गरिएको छ । राष्ट्रिय परिचय पत्रको बारेमा प्रस्तुतीकरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले राष्ट्रिय परिचय पत्र नागरिकको यथार्थ विवरण संकलन गरि प्रयोग गर्न उपयोगि हुने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य,विरबहादुर राना,नगरप्रमुख अशोक कुमार शाहीले राष्ट्रिय परिचय पत्र विवरण कार्यक्रमको स्वागत गर्दै आआफ्नो क्षेत्रबाट सहयोग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय परिचय पत्रका लागि नागरिकता बनाएका ब्यक्तिले जिल्ला प्रशासन कार्यालयमा पुगी विवरण भर्न सक्ने छन । विवरण संकलनको लागि स्वयम ब्यक्ति र साथमा सक्कली नागरिकता ल्याउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी बन्जाडेले जानकारी बताउनुभयो ।

नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगि प्रमाणपत्रलाई राष्ट्रिय परिचय पत्र भन्ने गरिएको छ । यसमा ब्यक्तिको परिचय खुल्ने सुचना,वायोमेट्रिक सुचना,पृथक नम्बर र सुरक्षण चिन्हहरुका साथै चिप रहेको हुन्छ । राष्ट्रिय परिचय पत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति ÷पत्नीको नाम, बाजेको नाम सहित १० वटा औंलाको औंला छाप,आँखाको नानि,परिचय पत्र,फोटो,राष्ट्रियता,हस्ताक्षर र चिप लगायतको विवरण आवश्यक पर्ने छ ।

राष्ट्रिय परिचय पत्र प्राप्त गर्न १६ वर्ष उमेर पुरा भएको,नेपाली नागरिकताको प्रमाणपत्र लिएको र परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको निकाय वा अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने छ ।

परिचय पत्र वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाकी प्रमुख प्रशासकिय अधिकृत रमा श्रेष्ठ,पत्रकार माधव अर्याल लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *