विदेशबाट फर्किएर तीन स्थानमा आधुनिक शैलुन

चितवन । सात वर्षअघि कतारबाट फर्किएर स्वदेशमा नै रोजगारी सिर्जना गर्न तम्सिएका एक युवकले तीन ठाउँमा आधुनिक शैलुन सञ्चालन गर्नुभएको छ । उहाँले शैलुन सञ्चालन गर्न मासिक रु एक लाख ७० हजार भाडा तिनुहुन्छ भने १४ जनालाई रोजगारीको अवसर मिलेको छ ।

भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका सुलभ सिग्देलले दुई वर्ष कतारमा बसेर फर्किएपछि शैलुनसम्बन्धी तालीम लिएर स्वदेशमा नै पेशा शुरु गर्नुभएको हो । विसं २०७१ साउन ६ गते पहिलो सामान्य शैलुनबाट पेशा थाल्नुभएका उहाँले त्यसको पाँच वर्षपछि नजिकै रु ५० हजार भाडा तिर्ने गरी शैलुन विस्तार गर्नुभयो । शुरुमा उहाँले मासिक रु १५ हजार भाडा तिर्ने गरी शैलुन शुरु गर्नुभएको थियो जहाँ रु २० लाख लगानी गरेको उहाँ बताउनुहुन्छ ।

गत वर्षको साउन ६ गते नै सिजी मलमा मासिक रु एक लाख भाडा तिर्ने गरी कोठा लिएर रु ३० लाख खर्च गरेर सिग्देलले दोस्रो शैलुन शुरु गर्नुभयो । यस वर्ष साउन ६ गते अर्को शैलुन दूरसञ्चार रोडमा विधिवत सञ्चालनमा आउँदै छ । जहाँ मासिक रु २० हजार भाडा तिर्नुपर्ने उहाँको भनाइ छ । तीनवटै शैलुनमा १४ जनाले रोजगारी पाउने छन् । अधिकांशले आफ्नै शैलुनमा काम सिकेका हुन् ।

पपुलर युनिसेक्स शैलुनका नामबाट खोलिएको शैलुनमा तालीम पनि दिइँदै आएको छ । “हालसम्म ४०० भन्दा बढीले तालीम लिई सकेका छन्”, उहाँले भन्नुभयो । तीमध्ये १४ जनाले यसै क्षेत्रमा आफैँले शैलुन चलाउँदै आएको सिग्देल बताउनुहुन्छ । श्रीमती सुस्मिता र आफूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीबाट तालीम लिएर हाल महिला र पुरुष दुवैको कपाल काट्नेदेखि विवाहमा सजाउनेसम्मको काम गर्दै आएको उहाँको भनाइ छ ।

सिग्देलसँगै तालीम लिएर माडीको वसन्तपुर बजारमा शैलुन चलाउँदै आउनुभएका विष्णु मगर मेहनत ग¥यो भने स्वदेशमा नै काम गर्न सकिन्छ भन्नुहुन्छ । “दैनिक २० जना हाराहारी ग्राहक आउँछन्, आफ्नै देशमा पेशा गर्न म सुझाव दिन्ुछ”, उहाँले भन्नुभयो । गीतानगरको चोक बजारमा शैलुन चलाउँदै आउनुभएका किशोर थापामगरले पनि सिग्देलसँगै तालीम लिनुभएको हो । उहाँ तीन वर्ष दुबई बसेर नेपाल फर्कनुभएको हो । विदेशको भन्दा यहाँ बढी कमाइ हुने गरेको उहाँले बताउनुभयो । “ मेहनत ग¥यो भने यही आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँले शुरु शुरुमा रु २० हजार लिएर ६ महिनासम्म तालीम दिने गर्नुहुन्थ्यो । अहिले रु ५० हजार लिएर ६ महिनाको सबै जान्ने गरी तालीम दिने गर्नुभएको छ ।

स्वदेशमानै थोरै लगानी गरेर राम्रो मुनाफा लिन सकिन्छ भन्ने उदाहारण सिग्देलसँगै यही सीप सिकेर व्यवसाय गरेकाले देखाएका छन् । लकडाउनसँगै स्थानीयप्रतिनै विश्वास बढेर गएको देखिन्छ । नेपालीले खोलेका शैलुनमा पनि केटाकेटीको विवाहको श्रृङगार, कपाल रङ्गाउने, ठाडो पार्ने, मेनिकेयर, पेडिकेयर जस्ता सबै काम हुने गर्दछन् । त्यस्ता शैलुनले रु ५० को थ्रेडिङदेखि रु ४० हजार लिएर दुलाहा दुलही श्रृङगार गर्नेसम्मका काम गर्दै आएका छन् ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *