गिट्टी कुटेर जिविका चलाउँदै अर्खबाङ्गका महिला

मनोज कार्की
गुल्मी । अधिकांश स्थानीय तहले विकासका नाममा सडक निर्माण र अन्य भौतिक पूर्वाधारमा मात्रै बजेट पोख्ने गर्छन् । तर गुल्मीको मालिका गाउँपालिकाले भने महिला सशक्तिकरणमा समेत टेवा पुग्नेगरी निरक्षर महिलालाई प्राथमिकता दिएर रोजगारी सिर्जना गर्ने रचनात्मक प्रयास गरेको छ ।

हुन त मान्छेका आ–आफ्नै दुःख छन् । चाहे हिमाल होस्, चाहे पहाड । वा, तराईँ नै किन नहोस्, प्रदेश ५ को पहाडी जिल्ला गुल्मीको मालिका गाउँपालिका–४ अर्खबाङ्गका महिलाले गिट्टी कुटेरै घर खर्च धान्दै आएका छन् । आजभोलि यहाँका महिला गिट्टी कुटेरै घर खर्च चलाउँदै आएका छन् । यस क्षेत्रका अधिकांश महिलाका श्रीमान बेरोजगार छन् । बिहान बेलुकाको छाक टार्नै धौ–धौ हुनथालेपछि, उनीहरुले दिनभर गिट्टी कुटेर बिहान बेलुकी हातमुख जोड्ने जोह गर्न थालेका हुन् । अहिले उनीहरुको आम्दानीको स्रोत नै यही भएको छ ।

अहिले आफूले गिट्टी कुटेरै भएको आम्दानीबाट दैनिक जीवन निर्वाह गर्ने र छोरा छोरीको पढाई खर्च समेत चलाउँदै आएको राममायाँ घर्तीले बताउनुभयो । ‘हामीले यहाँ दिनभरी गिट्टी कुटेर दुई चार सय कमाउँछौँ,’ उहाँले भन्नुभयो, ‘गाउँपालिकाले हामीलाई गिट्टी कुट्ने भएपनि काम दिएको छ । दुःख गरेर कमाएको पैसाले छोराछोरी पढाउने घरखर्च चलाउने गरेका छौँ ।’

गाउँपालिकाले १ बोरा गिट्टीको १ सय रुपैयाँ दिने गरेको छ । गिट्टी कुट्ने एउटा समूहमा १० जना भन्दाबढी महिला छन् ।

बिहानदेखि साँझसम्म निरन्तर ढुंगा फोड्नु, उनीहरुको दैनिकी बनेको छ । गिट्टीसँकै कुट्टीँदै छ, जीवन । यसरी नै वित्दैछन् चल्दोफुर्दो उमेरका महत्वपूर्ण दिनहरु । तयार पार्दै गरिएको गिट्टी गाउँपालिकामा बन्न थालेको शौचालयका लागि हो । विगत ६ महिनादेखि उनीहरु गिट्टी कुट्ने काम गरिरहेका छन् ।

महिलालाई आत्मनिर्भर बनाउन र श्रीमान्को मात्रै भर पर्ने जुग जमाना फेर्न भन्दै गाउँपालिकाले महिलालाई नै काम दिइरहेको मालिका गाउँपालिकाकी उपाध्यक्ष देवा रिजाल अर्यालले बताउनुभयो ।

‘मालिका गाउँपालिका महिला आत्म निर्भर बन्न थालेका छन्, सधै पुरुषको मात्रै भर गरेर बस्नु हुँदैन भन्ने चेतना बृद्धि भएको छ ।’ उपाध्यक्ष अर्यालले भन्नुभयो, ‘स्थानीय सरकारले गरिरहेका सडक निर्माण लगायतका काममा पनि महिलाको बाक्लो सहभागिता छ । पुरुष भन्दा धेरै नै सहभागी भइरहनुभएको छ । गाउँपालिकाले पनि उहाँलाई प्रोत्साहित गरिरहेको छ ।’

महिला आफैँले केही गर्न सकुन् भनेर प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत उनीहरुलाई सहभागी गराइएको थियो । गाउँपालिकाले हरेक काममा महिलालाई नै प्रोत्साहन गरिरहेको छ भने अर्खबाङ्गका महिलाले पनि आर्थिक उपार्जनका लागि हिम्मत जुटाएका छन् ।

गाउँपालिकाका अधिकांश महिला परनिर्भर नबनुन् भन्नका लागि गाउँपालिकाले सकभर महिलाहरुलाई नै रोजगारीका अवसरहरु सगैं विभिन्न सीपमुलक तालिमहरु दिँदै आएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *