कोरोनाले मगर समुदायको भूमे पर्व प्रभावित

काठमाडाैँ । मगर समुदायको बाहुल्य रहेका रुकुमपूर्व, रुकुमपश्चिम र रोल्पासहितका ठाउँमा भूमिको पूजा गर्ने पर्व ‘भूमे’ कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएको छ । रुकुमरोल्पाका अधिकांश स्थानमा प्रकृतिपूजक मगर समुदायले धुमधामका साथ भूमेपर्व मनाउने गरे पनि यस वर्ष कोरोनाको जोखिमका कारण सामान्य तरिकाले मनाउन सम्बन्धित पालिकाले अनुरोध गरेका छन् ।

हरेक वर्ष जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूमे अर्थात् भूम्या पर्व शुरु हुन्छ । शुक्रबारदेखि मंगलबारसम्म हरेक दिन बाजागाजासहित मगर समुदायका मान्छे भूम्या नाच नाच्छन् । मंगलबार बलि दिएर भूम्या पर्व समापन गरिन्छ । भूमिदेवतालाई बलि चढाएपछि अनिष्ट नहुने र बालीनाली सप्रिने मगर समुदायमा जनविश्वास छ । रुकुम(पूर्व)का भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा विशेष महत्वका साथ मनाइने यो पर्व यस वर्ष पाँचदेखि १० जनासम्म स्थानीयवासी र पुजारीका साथमा मनाइँदै छ ।

पाँचदेखि दश जना स्थानीय बासिन्दा मात्र जम्मा भएर मात्र बल तान्न, पूजाका लागि बनाइने परिकार घरपरिवारमै सीमित राख्न, इष्टमित्र बोलाउन, आउजाउ गर्न, मदिरा सेवन नगर्न र नाचगान नगर्न सूचना प्रकाशन गरी सबैलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *