क्वारेन्टाइनका भान्सेमा पनि कोरोना सङ्क्रमण

सर्लाही । सर्लाहीमा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढिरहेको छ ।
सोमबार एकैदिन जिल्लामा अहिलेसम्मकै धेरै ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा स्वाब परीक्षण गर्दा कविलासी नगरपालिकाको अगर्वा क्वारेन्टाइनमा रहेका ३६ जना र हरिपुर नगरपालिकाको हरिपुर बजारस्थित महावीर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइन र लक्ष्मीपुर कोद्राहस्थित क्वारेन्टाइनमा रहेका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कविलासीका ३६ जना सङ्क्रमितमध्ये एक जना क्वारेन्टाइन बस्नेहरूलाई खाजा, खाना बनाएर खुवाउने भान्सेसमेत हुन् । भान्सेमा नै सङ्क्रमण पाइएपछि क्वारेन्टाइनमा बसिरहेका सबै त्रसित भएका छन् । कविलासीका नगर प्रमुख कौशलकिशोर यादवका अनुसार ३० जना सङ्क्रमित भारतको मुम्बइ र अन्य छ जना भारतकै विभिन्न राज्यबाट आएका हुन् ।

गोडैता नगरपालिका घर भई अगर्वा क्वारेन्टाइनमा बसिरहेका शारीरिक रुपमा अशक्त एक जनामा पनि सङ्क्रमण पाइएको छ । कविलासीका ३८ जना सङ्क्रमितलाई स्थानीय स्तरमै आइसोलेसन वार्ड तयार पारेर राख्ने तयारी भइरहेको नगर प्रमुख यादवले बताउनुभयो ।

यता हरिपुर नगरपालिकामा सोमबार पीसीआर रिपोर्ट पोजेटिभ आएका दुई जनाको आइतबार भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेगेटिभ रिपोर्ट उपलब्ध गराएको पाइएको छ ।

नेगेटिभ रिपोर्ट आएपछि सोमबार बिहान मात्रै दुवै जनालाई घर पठाइएको थियो तर आज दिउँसो पुनः पोजिटिभ रिपोर्ट आएको जानकारी प्राप्त हुनसाथ दुवैलाई आइसोलेसनमा ल्याइएको छ ।

एउटै व्यक्तिको आइतबार नेगेटिभ र सोमबार पोजिटिभ रिपोर्ट आउँदा आफूहरू अचम्ममा परेको हरिपुरका नगर प्रमुख जमिरुदिन मन्सुरले बताउनुभयो । उहाँका अनुसार दुवै सङ्क्रमितलाई फरहदवास्थित नवनिर्मित स्वास्थ्य चौकीको भवनमा राखिएको छ । हरिपुरमा आइतबार सात जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

नगरभित्र कोरोना सङ्क्रमित देखा पर्नासाथ हरिपुर नगरपालिकाले पछि थप बेड राख्न मिल्ने गरी तत्काल १५ बेडको आइसोलेसन वार्ड तयार पारिसकेको छ । यसैबीच, सोमबार ३८ जना सङ्क्रमित थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १०८ पुगेको छ ।

सर्लाहीमा सबैभन्दा पहिला कोरोना भाइरस पोजिटिभ देखिएका धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय किशोर वीरगञ्जबाट र बाग्मती नगरपालिका–९ निवासी युवक काठमाडौँबाटै निको भएर घर आइसक्नुभएको छ । बाँकी सबै सङ्क्रमित काठमाडौँ, जनकपुर, वीरगञ्ज र सदरमुकाम मलङ्गवासहित सम्बन्धित स्थानीय तहले तयार पारेको उपचार स्थलमै आइसोलेटेड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *