कांग्रेसको संशोधन दर्ता, उठायो अंगिकृत नागरिकताको कुरा

काठमाडौँ । मुख्य विपक्षी दल कांग्रेसले समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेसका ८ जना सांसदले संविधान संशोधन प्रस्ताव दर्ता गरेका हुन् । सांसद अमरेशकुमार सिंहले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिनु भयो । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले यसअघि दर्ता गराएको विधेयकमा केही थप गरिएको बताए ।

संशोधन प्रस्तावमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्ने कुरा थप गरिएको छ । संविधानमा समावेशी प्रतिनिधित्वको व्यवस्था छ । संविधानको धारा ५६ मा संघीय संरचना पुनरावलोकन अयोग गठन, धारा २८७ मा संघीय आयोग गठन, धारा ८२ मा रहेको समावेशी प्रतिनिधित्वको ठाउँमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।

त्यस्तै संविधानको धारा ११ मा संशोधन गरी नेपालीसँग विवाह गरी आएकी महिलाले सम्बन्धित देशको नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेपछि वैवाहिक अंगिकृत नागरिकता लिनसक्ने व्यवस्था थप गर्न माग गरिएको छ ।

सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिषेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संशोधन विधेयक दर्ता गराउनु भएको हो ।

शनिवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले संशोधन प्रस्ताव लैजाने निर्णय गरेको थियो । यसअघि सोमवार मात्रै एकीकृत जनता समाजवादी पार्टीले पनि संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *