भारतमा असार १६ सम्म थपियो लकडाउन, जुन ८ देखि फेरिदै माेडालिटी

काठमाडौँ । भारतमा लकडाउन एक महिनाका लागि थप गरिएको छ । भारतमा चौथो चरणको लकडाउन आइतबार समाप्त हुँदै थियो । केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निर्णय गर्दै चरणगत् रुपमा सबै आर्थिक गतिविधिहरू सङ्क्रमणमुक्त क्षेत्रमा सुरु गरिने जनाएको छ । सरकारले जारी गरेको निर्देशिकामा सङ्क्रमित क्षेत्रमा लकडाउनको कठोर पालना गराउन निर्देशन दिइएको छ ।

हिन्दूस्तान टाइम्सका अनुसार गृह मन्त्रालयले नयाँ निर्देशिका प्रान्तीय सरकार र केन्द्र प्रशासित प्रान्तसँग विभिन्न चरणमा छलफलपश्चात जारी गरेको जनाएको छ । गृहमन्त्री अमित शाहले बिहीबार सबै प्रान्तका मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए । लगत्तै उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट गरेका छन् ।

निर्देशिकाबमोजिम जुन ८ देखि सार्वजनिक पूजास्थल तथा मन्दिर, होटेल, रेष्टुरेन्ट र अन्य सेवा क्षेत्र तथा शपिङ मल खुला गरिनेछ । यद्यपि स्वास्थ्य मन्त्रालयले यी स्थलहरू सञ्चालनका लागि मापदण्ड निर्धारण गर्नेछ ।

दोस्रो चरणमा विद्यालय, कलेज सञ्चालन गरिनेछ । प्रान्तीय सरकारलाई संस्थागत रुपमा अभिभावक, विद्यालय र कलेजसँग परामर्श गर्न गृह मन्त्रालयले सुझाव दिएको छ । जुलाई महिनामा विद्यालय, कलेज सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।

थोरै मात्रै गतिविधि सञ्चालनमा बन्देज लगाइनेछ । जसअन्तर्गत अन्तर्राष्ट्रिय उडान, मेट्रो रेल सञ्चालन, स्विमिङ पुल, मनोरञ्जन पार्क, सभागृहलगायतमा गतिविधि सञ्चालनमा रोक यथावत रहनेछन् । सामाजिक, खेलकुद, राजनीतिक, सांस्कृतिक तथा पर्व उत्सव मनाउन तेस्रो चरणसम्म पर्खिनुपर्नेछ ।

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड बमोजिम प्रान्तीय सरकारले सङ्क्रमित क्षेत्र निर्धारण गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *