पीसीआर रिपाेर्ट नआउँदै शव दिने नेशनल अस्पताललाई कारबाही गर्न सिफारिस

वीरगञ्ज । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साले पिसिआर रिपाेर्ट नआउँदै मृत्यु भएका बिरामीको शव दाहसंस्कार गर्न परिवारको जिम्मा लगाउने वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि कारबाही गर्न सिफारिस गरेकाे छ ।

काेराेना जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख एवम् पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा जेठ २ गते भर्ना गरिएका र जेठ ४ गते नै मृत्यु भएका बारा, कलैया उपमहानगरपालिका – ७ निवासी एक ७० वर्षीय व्यक्तिमा कोभिड १९ सङ्क्रमणको आशङ्कामा पिसिआर जाँचको लागि स्वाब सङ्कलन गरिएको तर पिसिआर जाँचको रिपाेर्ट नआउँदै दाहसंस्कार गर्न शव आफन्तको जिम्मा लगाइएको र आफन्तले मृतकको सदगद समेत गरिसकेको अवस्थामा रिपाेर्ट पोजिटिभ आएको थियो ।

संघीय गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यस घटनामा थप छानबिन एवम् कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्ने निर्णय कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।

बैठकले मृतकको सम्पर्कमा आएका कलेजका चिकित्सक, स्वास्थ्यकर्मीलगायत सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखी पिसिआर जाँच गराउने, मृतकलाई उपचार गरिएको वार्ड तथा अस्पतालको क्षेत्र सिल गर्ने निर्णय पनि गरेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *