संसदमा छचल्किएको नेकपाको आन्तरिक किचलो :प्रचण्ड-माकुनेले मुखै नखोली नीति तथा कार्यक्रम पारित

काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवाद प्रतिनिधि सभामा पनि झल्किएको छ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम (आव २०७७/७८) बहुमतले पारित हुँदा नेकपाकै शीर्ष नेताहरु बेखुस् देखिए । यतिसम्म कि पोहोर सरकारको नीति तथा कार्यक्रमको उल्कै बचाउ गर्नु भएका प्रचण्ड समेत मौन रहनुले नेकपाभित्रको आन्तरिक मनमुटाव संसदमा समेत प्रकट भएको छ ।

गएको वर्ष नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा राम्रैसँग बचाउ गरे पनि यो पल्ट उनी मात्र नभई शीर्ष तहका कुनै पनि नेताले मुखै नखोली  आगामी आर्थिक वर्ष २०७७/७८ काे नीति तथा कार्यक्रम पारित भएको छ ।

पोहोर प्रचण्डले व्यवस्थित र राम्रो तयारी गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको महसुस भएको उल्लेख गरेका थिए । तर, यो पल्ट प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले बोल्नै आवश्यक ठानेनन् । नीति तथा कार्यक्रम ल्याउनु अघि स्थायी कमिटी बैठकमा यसबारे छलफल हुनुपर्ने पक्षमा रहेका यी शीर्ष नेताहरुले प्रतिनिधि सभामा एक शब्द पनि नबोलेका हुन् । सरकारको नीति तथा कार्यक्रम आउनुअघि राखिएको स्थायी कमिटी बैठक अझै अनिश्चित छ ।

स्थायी कमिटी बैठक बोलाउन नसकेकोमा प्रचण्ड पक्षधर नेताहरु प्रधानमन्त्री ओलीसँग रुष्ट छन् । त्यही कारण यो पल्ट सरकारको नीति तथा कार्यक्रमको संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेकपाका महासचिव विष्णु पौडेलले मात्र प्रतिरक्षा गरे । प्रधानमन्त्री ओलीले आफ्नो सरकार अल्प अवधिका लागि नभएको र पूरै पाँच वर्षका लागि भएको बताउँदा सत्तारुढ नेकपाभित्रैका ओली पक्षीय सांसदहरुले मात्रै टेबल ठटाए । प्रधानमन्त्री ओलीले आँपको बिम्ब प्रयोग गर्दा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल सत्तापक्षका नेताहरुतर्फ फर्किएर हाँसे ।

नेकपाका सांसद भीम रावलले सरकारले एमसीसी जस्केलाबाट छिराउन खोजेएको आरोप लगाएकोमा प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्नु भयो । उनले जस्केलाबाट नभई मूल ढोकाबाटै ट्रान्समिसन लाइनको व्यवस्था आएको उल्लेख गरे । मुख्य विपक्षी नेपाली कांग्रेसका सांसदहरुले नेकपाभित्रको विवादको विषय संसदमा उठाए । कांग्रेस सांसद प्रदीप गिरीले बेलायतका नेलीब च्याम्बरलिनलाई प्रधानमन्त्रीबाट हटाइएको इतिहास उल्लेख गर्दै पार्टी भित्रैबाट बिदा मागिएको स्मरण गराए । यसको जवाफमा प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवादको कुरा गरेनन् । उल्टै, विगतमा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई हटाएको प्रसग सम्झाए । त्यही भएर होला जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा अल्पज्ञान र अहंकारको ककटेल देखियो, भनेको । केही दिन पहिले संसदमै डा. भट्टराईले ओलीलाई अब विश्राम लिन भनेका थिए । त्यो दिन डा. भट्टराईले दिएको सुझावलाई लिएर मुस्कुराएका ओली इत्तर नेकपा शीर्ष नेताहरु भने विपक्षीको छाँया सरकार हाँस्दासम्म समेत मौन रहे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *