‘म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंह जयते ?’ – प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसलाई फिर्ता लिएर छाडिने बताउनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो ।

उहाँले अतिक्रमित भूमि फिर्ता गर्न परिस्थिति जटिल हुने लक्षण देखिए पनि जसरी पनि नेपाली भूमि फिर्ता गरिने प्रतिबद्धता गर्नुभएकाे हाे । उहाँले भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै भारतीय प्रतीक चिन्हको प्रसंग पनि उप्काउनुभएकाे छ । ‘सत्यको जित हुन्छ कि सिंहको जित हुन्छ’ भन्ने कुराको जवाफ पनि भारतसँग सोध्ने प्रधानमन्त्रीले बताउनुभयाे ।

‘अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘सत्यमेव जयते भारतको प्रतीक चिन्हमा लेखेको छ तर म विश्वास गर्छु । हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ । म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंह जयते ?’

त्यस्तै प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रलाई भारतले अतिक्रमण गरेर विवादित बनाएको बताउनुभयाे । ‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं,’ उहाँले भन्नुभयाे ? ‘हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *