सांसद अपहरण प्रकरणको अनुसन्धान फाइल तत्काललाई बन्द

काठमाडौं । एकीकृत जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान फाइल तत्काललाई बन्द भएको छ भने ओरोपीमाथिको सम्भावित कारबाही पनि टरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ताको निर्णय भएसँगै सांसद अपहरण प्रकरणको फाइल तत्काललाई बन्द भएको हो । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीका अनुसार सांसद अपहरण प्रकरणको अनुसन्धान फाइल तत्कालका लागि बन्द भएको छ ।

पीडितले दिएको जाहेरी दरखास्तमा गरिएको जिकिर पुष्टि हुने खालका कुनै पनि प्रमाण नभेटिएका कारण अनुसन्धान तामेलीमा राख्ने निर्णय भएको सह–न्यायाधिवक्ता रेग्मीले बताउनुभयाे । प्रहरीले अनुसन्धान प्रतिवेदन पेश गर्दा मुद्दा चलाउनु नपर्ने राय दिएकाले सरकारी वकिल कार्यालयले पनि जाहेरी तामेली राख्ने निर्णय गरेको हो । जाहेरी तामेली राख्ने निर्णय भएपछि अनुसन्धान प्रतिवेदन प्रहरीमै फिर्ता गर्ने प्रक्रिया छ ।

अहिलेलाई सांसद यादवले दिएको जाहेरी तामेली भए पनि प्रमाण पुगेको खण्डमा भने फाइल जुनसुकै बेला खुल्न सक्ने सरकारी वकिल कार्यालयको भनाई छ । पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत सांसद यादवको अपहरण प्रकरणमा पूर्वमन्त्री तथा सत्तारुढ दल नेकपाका सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाकै सांसद कृष्णकुमार श्रेष्ठ (किसान) र प्रहरीको गुन्डा नाइके सूचीमा रहेका नवीन बस्नेत मुछिदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *