लकडाउन खुलेपछि लोकसेवा परीक्षा हुने

काठमाडौँ । कोरोनाका कारण प्रभावित भएको लोकसेवाको परीक्षा अवस्था सामान्य भएपछि हुने भएको छ ।

सोमबार बसेको लोक सेवा आयोगको बैठकले एक चरणको परीक्षा सञ्चालन भइसकेका पदहरुका बाँकी परीक्षा अवस्था सामान्य भएपछि लिने निर्णय गरेको हो । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले जनाएको छ ।

पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुनेछन् । यसअघि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि लोक सेवाले यी पदका परीक्षाहरु अनिश्चितकालसम्मका लागि स्थगित गरेको थियो ।

गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले हाललाई पदपूर्तिका सबै कार्यक्रम रोक्न लोक सेवा आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले यसअघि नै कुनै एक चरणको परीक्षा भएकाको हकमा परीक्षा रोक्न नमिल्ने अनौपचारिक धारणा सार्वजनिक गरेको आयोगले त्यसबारे सोमबार औपचारिक निर्णय गरेको हो ।

दरखास्त संकलन भैसकेका तर कुनैपनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा भने सरकारबाट अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *