कोरोना संक्रमितको सङ्ख्या थपिँदै जाँदा जनजीवन त्रसित

काठमाडौँ । कोरोना संक्रमितको सङ्ख्या थपिँदै जाँदा जनजीवन त्रसित बनेको छ । काभ्रे र महोत्तरीमा थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ८१ पुगेको छ । स्वास्थ्य अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका हुन् । काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धुलिखेल अस्पतालमा विहीबार बेलुकी निधन भएकी सुत्केरी महिलाको कोरोना परीक्षणबारे थप अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती महिलाको मृत्युबारे थप अनुसन्धान र विवरणहरु संकलन गरिरहेको र उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो वा होइन भन्नेबारे पछि सार्वजनिक गरिने जानकारी दिनु भयो ।

आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको विहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि धुलिखेल अस्पताल भर्ना गरिएकी उनको उपचारमा क्रममा निधन भएको बताइएको छ ।

ती महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका– ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो ।

नेपाली सेनाका कर्मचारीमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिक भएको खुलेको हो । उनीहरु दुबैजना मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको बताइएको छ । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *