लकडाउनले रोकिएका विकास निर्माणका काम शुरु

कौरव खत्री
बागलुङ । लकडाउन र कोरोना भाइरस सङ्क्रमणका कारण अवरुद्ध भएका विकास योजनालाई बागलुङमा निरन्तरता दिइएको छ । विशेषगरी राष्ट्रिय गौरवका आयोना तथा नगर विकास कोषको अनुदानमा गरिने काम थालिएको हो । दुई महिनादेखि अवरुद्ध भएपछि तोकिएको समयमा सक्नैपर्ने बाध्यताका योजनामा काम थालिएको स्थानीय सरकारका प्रमुखहरुले बताएका छन् ।

गलकोट नगरपालिका वडा नं २ नरेठाटी बजार, वडा नं ५ हरिचौर बजार र वडा नं ८ काँडेबास बजारमा ढल व्यवस्थापन सँगै खानेपानीको व्यवस्थापनको लागि सुरु गरिएको कामलाई निरन्तरता दिन थालिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷०७७ अन्तर्गत नगरपालिकाको ८०५ बजेट र समुदाय साझेदारी २०५ रकम मार्फत उक्त योजनाका कामहरु सञ्चालनमा आएको नगर प्रमुख गैरेले बताउनुभयो ।

त्यस्तै नरेठाटी बजारमा पक्की नालीसहित सडक ढलान र खानेपानी पाईप लाईन व्यवस्थापनको काम चलिरहेको गलकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाको ३० लाख र स्थानीयको ७ लाख ५० हजार रकमले उक्त योजनालाई सामाजिक दुरी कायम गरी अगाडी बढाईएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

योजना सञ्चालन हुनु अगावै स्थानीयले नगरपालिकामा समुदाय साझेदारी रकम जम्मा गरेका थिए । गत माघदेखि सञ्चालनमा रहेका यी योजनाहरु कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले देश लक डाउन गरेपछि काम स्थगित भएका थिए ।

अहिले पक्की नाली निर्माण संगै ८ इन्च ढलान गरिएको छ । उच्च सतर्कता अपनाउँदै दैनिक १० जना मजदुरले काम गरिरहेका छन् । स्थानीय कामदारहरुले योजनामा काम गरिरहेका छन् ।

नाली निर्माण भएपछि वर्षौ देखिको ढल व्यवस्थापनको समस्या समाधान हुने नरेठाटी बजार ढल व्यवस्थापन तथा स्तरवृद्वि निर्माण उपभोक्ता समितिका अध्यक्ष हुम बहादुर थापाले बताउनुभयो । १ सय ६० मिटर लामो उक्त योजनालाई गलकोट नगरपालिबाट उच्च सतर्कता अपनाई सुरक्षित दुरी कायम गर्दै स्थानीय स्तरमा उपलब्ध मजदुर प्रयोग गरी विकास निमार्णका काम अगाडि बढाउने निर्णय भएसँगै निर्माण कार्यले पुन निरन्तरता पाएको निर्माण उपभोक्ता समितिका सचिव यम श्रीसले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *