साकुरा ! यसपटक संकट छ

क्षितिजमा देखिने अग्ला डाँडाहरुलाई
घुम्टो ओढाएका सेताम्य हिउँहरु पग्ली सके,
ढकमक फुलेका ती रङ्गीबिरङ्गी साकुरा फूलहरुले
बगैचामा आफ्नो सौन्दर्यको लालित्य मात्र छरेका छैनन्
फक्रिएको उन्मत्त बैंश साटिरहेछन् भमराहरुसँग, पुतलीहरुसँग र माहुरीहरुसँग,
फूलसँगको सहबासमा रमाइरहेछन् भमराहरु पनि।
तर यसपटक साकुराहरु राजकाजको डबलीमा पुगेनन् ।

साकुराको सौन्दर्य हेरेर मज्जा लिने मान्छेहरुको भीड पोहोर जस्तो छैन यसपटक
मान्छेहरु मान्छेसँगै तर्किएर हिँडेका छन्
शून्य छन् समुद्रका किनारहरु पनि ।
सायद,
किनारसम्म आइपुग्ने छालले पनि बिरानो मान्दै होला,
पार्कहरुमा देखिन्नन् प्रेमिल जोडीहरु
चिप्लेटी खेलिरहेका बच्चाहरु देखिन्नन्
रित्ता छन् चिल्ड्रेन पार्कहरु पनि ।

सडकमा देखिन्नन् कोही
सुनसान छ जताततै
नाइट क्लव, फिल्म हल, इभेन्टहल बन्द छन्
सुपरमार्केट, डिपार्टमेन्ट स्टोरहरुमा मान्छेहरुको भीड छैन
रित्ता छन् रेलका डिब्बाहरु
खाली छन् गाडीका सिटहरू ।

तर,
यहाँ यसपटक
त्रास छ अभाव छ र संकट छ
हो, कोरोनाको कहर छ ।
छिनछिनमा तर्सिन्छन् मान्छेहरु,
झस्किन्छन् मान्छेहरु
अतालिन्छन् मान्छेहरु
आउँछन् संसार भरबाट मृत्युका बग्रेल्तै खबरहरु
कोरोनाका आउट ब्रेकहरु
जापानी बाजे बज्यै मात्र होइन
प्रदेश आएका सन्तानका पीरमा घरदेशका बाआमाहरु पनि आत्तिइरहेछन् ।
लाग्छ अचानोमा छ जीन्दगी
र मजदुरको मजबुरी ।

खैर,
सूर्याेदयको देशमा मिर्मिरेमा सूर्य उदाउन छोडेको छैन ।
गोधुलीमा घाम डुबेपछि
रात डो¥याउँदै निस्किन्छ जुन पनि
अनि चकमन्न रातमा टिलपिलाउँछन् ताराहरु ।
सफा र खुला आकासमा
चिरबिरचिरबिर गर्दै उडिरहेका छन् चराहरु
फुल पनि फुलिरहेका छन्
यो सौन्दर्य देखेर खुशी हुन्छन् इन्द्रदेव
र वर्सिन्छ फेरि सिमसिम पानी पनि बेलाबखत,
चित्तबुझाउन बाल्कोनीमा आउँछन् मान्छेहरु
किनारा चुम्न बेजोड बेगले आउँछ समुन्द्रका छालहरु उस्तै गरी,
डुबुल्की मार्छन् माछाहरु
जापानी सांगितिक धुन कोतोले आनन्द दिन पनि छोडेको छैन
फरक यत्ति हो
मान्छेहरुको मनलाई त्राशले पनि छोडेको छैन ।

झ्यालबाट पर देखिने ढकमक फुकेका साकुरा हेरेर
सोचिरहेछु,
अर्को वर्ष यो वर्ष डुल्न नपाएको साकुरा वन डुल्नु पर्छ ।
बगैंचाका यी फूलहरूसँगै भुल्नु पर्छ ।
समुन्द्रमा डुबुल्की मारेर,
संसार रुवाएको कोरोनाको कहर भुल्नुपर्छ ।

संगीता भट्ट
हाल जापान

जनहीतका लागि अनुरोध
[ कोरोना भाइरस प्राण घातक भए पनि सम्यमता अपनाउँदा यसबाट बच्न सकिन्छ । स्वास्थ्यसँग खेलवाट नगरौं सामाजिक दुरी कायम राखौं । अत्यावश्यक काम बाहेक घरबाट ननिस्कौँ । सकारात्मक सोच राखौँ । घरमै बिहान बेलुका व्यायम गरौं, सन्तुलित भोजनको सेवन गरौं । आज सम्यमता अपनाए भोलि अबश्य देख्न पाइन्छ, परदेशबाट घरदेश फर्केर आफ्नै माटो टेक्न पक्कै पाइन्छ । ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *