गाउँपालिकाले दीर्घरोगीलाई औषधि उपलब्ध गराउने

सोलुखुम्बु । लकडाउनको समय थप भएसँगै थुलुङ दूधकोशी गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । लकडाउनका कारण नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई राहतस्वरुप एक महिनाका लागि औषधि वितरण गर्ने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका २९५ परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले दीर्घरोगीलाई औषधि उपलब्ध गराउने जनाएको छ । तेस्रो चरणको लकडाउन थपिए पनि अझै खुल्ने समय यकिन नभएकाले दीर्घरोगीलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले औषधि वितरण गर्न लागिएको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले सार्वजानिक सूचना जारी गरेर बिरामीले सेवन गर्ने औषधिको बिल उपलब्ध गराउन आग्रह गर्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गरेको जनाएको छ । प्रत्येक वडाका जनप्रतिनिधिले तथ्याङ्क सङ्कलन गरी गाउँपालिकामा बुझाउनुपर्ने प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो ।

जिल्लाको नेचा सल्यान गाउँपालिकाले पनि दीर्घरोगीलाई एक महिनाको निःशुल्क औषधि उपलब्ध गराउने जनाएको छ । गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाका अनुसार गाउँपालिकाले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको छ । वडाका जनप्रतनिधि र स्वास्थ्यकर्मीले सिफारिस गरेको पत्रसहित विवरण सङ्कलन गरी ल्याउने र गाउँपालिकाले खरिद गरी वितरण गरिने जनाएको छ । यस्तै गाउँपालिकाभित्रका अतिविपन्न परिवारलाई राहत दिनका लागि पनि विवरण सङ्कलनको काम जारी रहेको जनाएको छ ।

सोलुखुम्बुको आठ स्थानीय तहमध्ये अतिविपन्न तथा ज्यालामजदुरी गर्नेको पहिचान गरी राहत वितरण गर्ने पहिलो गाउँपालिका थुलुङदूधकोशी हो । यहाँका अन्य स्थानीय तहले अहिले विवरण सङ्कलनमा जुटेका छन् ।

महाकुलुङ गाउँपाकिलाले चैत २८ गते राहत दिने गरी तयारी थालेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । सोमबार सम्पन्न गाउँकार्यपालिका राहत वितरण मार्गदर्शन २०७६ पारित गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष किराँतीले जानकारी दिनुभयो । यस्तै माप्यदुधकोशी गाउँपालिकाले पनि अतिविपन्न परिवारको तथ्याङक सङ्कलन गरिरहेको जनाएको छ । गाउँपालिका उपाअध्यक्ष जुनितामाया मगरका अनुसार विपन्न परिवारसँगै दीर्घरोगीको तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । लिखुपिके गाउँपालिकाले पनि आजसम्ममा अतिविपन्न परिवारको तथ्याङ्क सङ्कलन सक्ने गरी काम गरिरहेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो ।

जिल्लाको विभिन्न स्थानीय तहमा भौतिक संरचना निर्माणको चरणमा रहेकाले यहाँका भारतीयमूलका नागरिकसमेत मजदुरीका लागि आएका छन् । तर पनि उनीहरु के–कति छन् भन्ने विषयमा आजसम्म कसैले पनि तथ्याङ्क सार्वजानिक गरेका छैनन् । यस्तै जिल्ला बाहिर कैलाली, कञ्चरपुर, रामेछापलगायतका क्षेत्रबाट पनि मजदुरीका लागि आउने गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *