चिकित्सकलाई प्रदेश सरकारको आग्रह

बलेवा। गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खट्न आग्रह गर्नुभएको छ । कोरोना भाइरस सङ्क्रमित पाँचौँ र छैटौँ बिरामीको उपचार भइरहेको धौलागिरि अञ्चल अस्पतालमा अनुगमन र निरीक्षण गर्न बुधबार यहाँ आउनुभएका सचिव शर्माले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले प्रदान गरेको सेवालाई प्रशंसा गर्दै भन्नुभयो, “हजुरहरु मन, वचन र कर्म लगाएर उच्च मनोबलका साथ काम गर्नुहोस्, प्रदेश सरकारले तपाईंहरुको सुरक्षाका लागि सबै काम गर्न तयार छ ।”

उहाँले धौलागिरि अञ्चल अस्पताललाई डेडिकेटेड अस्पताल बनाउने निर्णय भइसकेकाले यहाँ कुनै पनि सुविधाको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिले राखेको मागलाई तत्कालै सम्बोधन हुने बताउँदै सचिव शर्माले भन्नुभयोे, “यो प्रदेशको प्राथमिकताको अस्पताल हो, जनतालाई सेवा दिन यहाँ कुनै पनि कुराको अभाव हुन दिने छैनौँ । आवश्यकताका सबै माग पूरा हुन्छन ।”

चिकित्सक र व्यवस्थापनले अस्पतालमा कोरोना उपचारका लागि स्वास्थ्य सामग्री, सुरक्षा कवच, दक्ष जनशक्ति र सवारी साधनको आवश्यकता भएकाले त्यसको व्यवस्था गर्न माग गरेका थिए ।

चिकित्सक रामबहादुर खत्रीले कोरोनाको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई विशेष भत्ता र सुविधाको व्यवस्थाका साथमा रु ३० लाख बराबरको बिमासमेत गरिएको जानकारी दिनुभयो । प्रदेश आपूर्ति तथा तालिम केन्द्रका निर्देशक खिमबहादुर खड्काले आवश्यकताका आधारमा धौलागिरि अञ्चल अस्पताललाई सेवा, सुविधा थप गरिँदै जाने बताउनुभयो ।

सांसद मनकुमारी केसीेले अस्पतालको विकास र जनशक्तिका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले प्रदेशको तर्फबाट प्राथमिकतामा राखेर यहाँको आवश्यकतालाई पूरा गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *