कोरोना लागेकी युवतीसँगै कतारबाट आएका १ सय २५ जना सम्पर्कमा [ अपडेट ]

काठमाडाैँ । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ।

चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेकाे बीबीसीले जनाएकाे छ ।त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए।

प्रहरीलाई जिम्मा
फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ। ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले बताए।

उनले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिए। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *