जहाँ विद्यार्थीहरु बन्दुक बोकेर जान्छन् विद्यालय

एजेन्सी । सुन्दा झट्ट विश्वास नलाग्न सक्छ, विद्यार्थीहरु बन्दुक बोकेर जान्छन् विद्यालय । बन्दुक पनि सामान्य होइन अत्याधुनिक एके–४७ उनीहरुका लागि सामान्य हो । विद्यार्थीका साथमा कापी किताबको झोला मात्र होइन सधै काँधमा राइफल पनि हुन्छ । कक्षा कोठामा पनि उनीहरुसँग राइफल हुन्छ । घटना नौलो लागेपनि त्यहाँ वर्षौँदेखि यहीक्रम चल्दै आएको छ । यो खबर पूर्वी अफगानिस्तानको हो ।

पूर्वोत्तर अफगानिस्तानको कापिसा प्रान्तमा बसोबास गर्ने अल्पसङ्ख्यक पशाई समुदायका मानिसहरू बन्दुक बोकेर हिँड्छन् । त्यहाँ विद्यालय जाने किशोरका हातमा एके–४७ देखिनु सामान्य मानिन्छ । आफ्नो स्थानको सुरक्षा गर्न बन्दुक बोक्नुपरेको स्थानीय बताउँछन् ।

विद्यार्थीहरु भन्छन्, हामी बन्दुकले सिकार गर्छौँ तारा हान्ने अभ्यास गर्छाैँ । हामीसँग बिभिन्न किसिमका एके–४७ छन् । केही किशोरहरु अरुसँग दुस्मनी भएका कारण सुरक्षाका लागि बोक्छन् भने धेरैका लागि बन्दुक बोक्नु शोख भएको उनीहरु बताउँछन् ।

बीबीसी रिपोर्ट अनुसार पूर्वोत्तर अफगानिस्तानको कापिसा उपत्यकामा कसैको शासन छैन । त्यहाँ कुनै पनि सरकारको नियन्त्रण छैन । अफगान सरकारले समेत त्यहाँ कुनै शासन नगरेको समाचारमा जनाइएको छ ।

अहिलेसम्म स्वतन्त्र रहेको यस ठाउँका केही स्थानीय भने परिवर्तन होला भन्ने आशामा छन् । स्थानीय मलेक साहिब खान भन्छन्, पक्की सडकले हामीलाई जिल्लाको सदरमुकामसँग जोड्यो भने हाम्रा युवाले रोजगारी पाउँथे, कसैले साना पसल खोल्थे, अनि अरुले टायर पसल वा होटल चलाउँथे ।

तर त्यहाँ अहिले त्यस्तो कुनै परिवर्तन भइहाल्ने अवस्था वा संकेत केही छैन । युवाहरु बन्दुक बोकेर तारो हान्ने सीप निखार्न मै अभ्यस्त छन् । त्यहाँका  केटाकेटीहरु बन्दुकसँग खेलेरै हुर्किन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *