‘रवि निर्दोष सावित’ भए भन्दै रास्वपाका कार्यकर्ता भ्रम फैलाउँदै, सचेत हौं जनता !

What To Know

  • रवि आफुले सहकारी ठगेको स्वीकारेर रकम तिर्ने अनि उसका कार्यकर्ता, समर्थक चाँहि राजनीतिक प्रतिशोध भन्ने, वाहवाह । यदि रवि निर्दोष थिए भने उनी यो रकम तिर्न कहिल्यै तयार हुने थिएनन् । उनी अदालतको अन्तिम आदेश कुर्थे । तर, आफूले सहकारीको रकम हिनामिना गरेको रविलाई पनि थाहा छ । अनि अदालतले अन्तिम आदेशले जीवनभर जेलमै काट्नुपर्ने डरले उनी यो रकम तिर्न तयार भएका हुन् ।.
  • त्यसक्रममा उनीमाथि आफ्नै सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लाग्यो । उनलाई प्रहरीले पक्राउ गर्यो । त्यतिबेला रवि राजावादी थिए । प्रहरीले समातेपछि चितवनमा उनको समर्थनमा राजावादीहरु उत्रिए । अनि प्रहरी र अदालतले अनुसन्धान नै नगरी उनलाई छोडिदियो । त्यसपछि रवि झनै चर्चित भए । उनले सञ्चारकर्मलाई छोड्ने निर्णय गरे, अनि राजनीतिमा लागे । ०७९ असारमा पार्टी खोले । मंसिरमा चुनाव लडे । चुनावमा रास्वपा चौथों पार्टी बन्यो ।.

रुषा थापा
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा समर्थक भन्छन्–‘रवि लामिछाने धरौटीमा छुटे, उनले सफाई पाए । रवि निर्दोष देखिए अनि अदालतले छोडिदियो ।’ अब न धरौटीमा छुटेका हुन् न त उनले सफाइ नै पाएका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनी झण्डै नौ महिनादेखि जेलमा थिए ।

जिल्ला अदालतको आदेशबमोजिम जेल पुगेका उनले सहकारीमा हिनामिना भएको रकममध्ये आफ्नो भागमा पर्ने बिगो तिरेर रिहा हुन पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनउपर गत पुस ३ गते भएको सुनुवाईमा उच्चले उनलाई बिगोबापत रकम तिरेर रिहा गर्न आदेश दिएको हो ।

रविले दुई करोड ६८ लाख ७४ हजार रुपैयाँ तिरेर रिहा हुनुपर्ने माग राखेका थिए । उच्च अदालतले सो रकमसहित थप एक करोड तिर्न लगाएर उनलाई छोडेको हो । अदालतले उनलाई निर्दोष ठहर गरेको छैन । यो त केबल आदेश मात्रै हो, अन्तिम फैसला होइन । रविले सहकारी ठगेका छन् कि छैनन् ? न्यायालयबाट अन्तिम फैसला हुन बाँकी नै छ ।

तर, अदालतले उनलाई निर्दोष ठहर नगरेपछि रास्वपाका कार्यकर्ता, समर्थकहरु चाँहि रविलाई अदालतले निर्दोष ठहर गरेर छोडिदियो भन्दै आम जनमानसमा भ्रम फैलाइरहेका छन् । बुटवलको सुप्रिम सहकारीमा रविसहित दर्जनौंविरुद्ध मुद्दा चलेको छ, उनीहरु अहिले पनि जेलमै छन् । यो सहकारीमा सर्वसाधारण जनताले खाइनखाई राखेको अर्बौ रकम हिनामिना भएको छ ।

डुबेको अर्बौ छ तर रवि करोड तिरेर छुटेका छन् । अर्कोतर्फ, रविले यो सुविधा पाएपछि अन्यले पनि पाउने कि नपाउने ? प्रश्न उठेको छ । अब रविको सिको गर्दै सहकारी ठगीमा जेल परेका सबैले आफ्नो भागबमोजिमको बिगो बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरे भने के हुन्छ ? के अदालतले उनीहरु सबैलाई पनि छोडिदिने ?

अर्बौ ठगेर करोड बैंक जमानत राखेर सहकारी ठगहरु त भागिहाल्छन् अनि बिचल्ली चाँहि बचतकर्ताको हुन्छ । त्यसैले, रविलाई बैंक जमानतमा छोड्ने अदालतको फैसला न्यायोचित छैन । अदालतले न्यायोचित फैसला गर्नुपर्छ नाकि कसैको दबाब, प्रलोभनमा आएर वा कोही लोकप्रिय व्यक्ति भएको देखेर । रवि छुट्नासाथ बजारमा रास्वपाका कार्यकर्ता, समर्थकहरुको चुरीफुरी शुरु भइसकेको छ । उनीहरु भन्छन्, ‘रविमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भयो ।’

रवि आफुले सहकारी ठगेको स्वीकारेर रकम तिर्ने अनि उसका कार्यकर्ता, समर्थक चाँहि राजनीतिक प्रतिशोध भन्ने, वाहवाह । यदि रवि निर्दोष थिए भने उनी यो रकम तिर्न कहिल्यै तयार हुने थिएनन् । उनी अदालतको अन्तिम आदेश कुर्थे । तर, आफूले सहकारीको रकम हिनामिना गरेको रविलाई पनि थाहा छ । अनि अदालतले अन्तिम आदेशले जीवनभर जेलमै काट्नुपर्ने डरले उनी यो रकम तिर्न तयार भएका हुन् ।

अर्कोतर्फ, रविले एउटामात्र होइन, दर्जनों सहकारी ठगेका छन् । चितवन, पर्सा, पोखरा, काठमाडौंलगायत धेरै जिल्लामा उनीमाथि मुद्दा चलिरहेको छ । सम्पत्ति शुद्धिकरणमा पनि उनीमाथि मुद्दा चलिरहेकै छ । अनि एउटा सहकारीको बिगो तिरेर छुटेपनि अन्य सहकारीको हकमा के होला ? हिजो सहकारीको पैसा मोजमस्ती गर्ने, अहिले प्रतिशोध भन्दै जनता उचाल्ने ? रविकै कारण सहकारीमा आफूले जीवनभर दुःख गरेर कमाएको लाखौं सर्वसाधारणको अर्बौ रकम डुबेको छ ।

सहकारीमा आफ्नो रकम डुब्नेलाई मात्र थाहा छ कि रवि कस्ता व्यक्ति हुन् । तर, रास्वपाका कार्यकर्ता, समर्थकहरु रवि महान् व्यक्ति, देश र जनताको हितमा काम गर्ने हुन् भन्दै हिँडेका छन् । रविले के गरेका छन् र उनी महान् छन् ? उनले देश र जनताका लागि के काम गरे ? रवि दुईपटक गृहमन्त्री बने तर गृहमन्त्री हुँदा उनले सिन्कोसमेत भाँचेनन् ।

भ्रष्टाचारका ठूला फाइल खोल्छु भन्दै जनतालाई भ्रमित मात्रै बनाए । अनि अझैपनि रास्वपाका समर्थक, कार्यकर्ताहरु ‘रवि रवि’ भन्दै हिँड्छन् । राजनीति गर्ने व्यक्ति त्यागी हुनु पर्छ । उसले मुलुकमा योगदान पुर्याएको हुनुपर्छ । तर, रवि त त्यस्ता व्यक्ति हुन्, जो मुलुक संकटमा हुँदा अमेरिकामा रमाइरहेका थिए । देशमा माओवादी जनयुद्ध हुँदा अर्थात् ०५६ सालमा उनी नेपाल नै छोडेका अमेरिका पुगेका थिए ।

यहाँ फर्किन नसक्ने अवस्था र अमेरिकाको सेवासुविधाले उनलाई लोभ्याए अनि ०६६ सालमा नेपाली नागरिकता नै त्यागेर अमेरिकी ग्रिनकार्ड लिए । अमेरिकामा पनि उनको काम ठग्ने नै थियो । त्यहाँ उनले ठग्नु ठगे । अनि त्यहाँ आफूमाथि मुद्दाको चाङ लागेपछि उनी ०७१ सालमा नेपाल फर्किए, भिजिट भिसामा । नेपाल फर्किएपछि सञ्चारकर्ममा लागे । केही जनताका मुद्दा उठाए, पुराना राजनीतिक दल र नेतामाथि हिलो छ्यापे ।

त्यसक्रममा उनीमाथि आफ्नै सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लाग्यो । उनलाई प्रहरीले पक्राउ गर्यो । त्यतिबेला रवि राजावादी थिए । प्रहरीले समातेपछि चितवनमा उनको समर्थनमा राजावादीहरु उत्रिए । अनि प्रहरी र अदालतले अनुसन्धान नै नगरी उनलाई छोडिदियो । त्यसपछि रवि झनै चर्चित भए । उनले सञ्चारकर्मलाई छोड्ने निर्णय गरे, अनि राजनीतिमा लागे । ०७९ असारमा पार्टी खोले । मंसिरमा चुनाव लडे । चुनावमा रास्वपा चौथों पार्टी बन्यो ।

चुनाव लड्नुअघि रवि भन्थे–हामी सरकारमा जाँदैनौं । तर, चुनाव भएको एक महिनामै उनी सरकारमा गए । त्यो पनि गृहमन्त्री बनेर । ०७९ पुस ११ गते गृहमन्त्री बनेपछि उनका पोल खोलियो । उनी नेपाली नागरिक नै नभएको खुल्यो । सर्वोच्च अदालतले उनी नेपाली नागरिक नभएको ठहर गर्दै तत्कालिन गृहमन्त्रीसहित सांसद, पार्टी सभापतिलगायत पदबाट उनलाई बर्खास्त गरिदियो । ३२ दिनमै उनले गृहमन्त्रीको कुर्सी गुमाए ।

अदालतले नेपाली नागरिक नभएको ठहर गरेपनि उनले काठमाडौं सिडिओ कार्यालयबाट नागरिकता लिए । उनका कारण चितवनमा पुनः चुनाव गराउनुपर्यो । आफूमाथि दलहरुले प्रतिशोध साँधिएको भ्रम फैलाएर चितवनबाट फेरि उनले नै चुनाव जिते । र, दलहरुको विरोध गरेर उनीहरुकै सरकारमा फेरिपनि गृहमन्त्री बने । गृहमन्त्री हुँदा उनले ठूला फाइल खोल्छु खोल्छु भन्दै उनलाई अल्मल्याइराखेका थिए ।

तर, यसपटक गृहमन्त्री हुँदा उनको अन्य ठगीका प्रकरण बाहिरियो । अनि थाहा भयो कि उनी ठूला फाइल खोल्न होइन, आफ्नै फाइल बन्द गर्न चाँहि गृहमन्त्री बनेका रहेछन् । उता गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलरलाई कुटेर रवि नख्खु जेलबाट भागे । उनी भाग्दा देशभरका जेलबाट कैदीबन्दी भागे । त्यसक्रममा सुरक्षाकर्मीको गोलीबाट दर्जनौं कैदीबन्दीले ज्यान गुमाए ।

उनी भाग्दा भागेका कैदीबन्दी अझै बाहिरै छन् । उनीहरु पुनः अपराधमा संलग्न भइसकेका छन् । यसले जनता असुरक्षित महसुस गरिरहेका छन् । अनि यसको जिम्मा कसले लिने ? रविको देखाउने र पचाउने दाँत फरक फरक छ । पहिले त उनीबाट आफ्नै सहकर्मी पुडासैनी पीडित भए अनि आत्महत्या गरे । अहिले उनीबाट लाखौं सर्वसाधारण पीडित बनेका छन् ।
यदि त्यतिबेलै उनलाई कारबाही गरिएको भए अहिले यो अवस्था आउने नै थिएन । विडम्बना, लोकप्रियताको सामु राज्य, अदालत र प्रहरी प्रशासन डराउँदा रविले आफूले सर्वश्रेष्ठ ठाने । आफूले जे गरेपनि हुन्छ भन्ने उनमा पर्यो । र, अझै पनि जनता उनकै विश्वास गरिरहेका छन् । अब चाँहि उनको बुद्धि पलाओस् ।

रवि छुटेसँगै रास्वपाका समर्थक, कार्यकर्ताले भन्न थालेका छन्–फागुनको चुनावमा रास्वपा पहिलो पार्टी बन्छ । रास्वपा पहिलो पार्टी बनेमा देशमा ठगहरुको शासन चल्नेछ । किनकि रास्वपामा जतिपनि व्यक्ति जोडिएका छन्, उनीहरु कुनै न कुनै काण्डमा मुछिएका छन् । त्यसैले, जनता सचेत हौं । सञ्चारकर्मीहरुले पनि जनतालाई सचेत गराऔं । रवि र उसका समर्थक, कार्यकर्ताको हावादारी कुरामा विश्वास नगरौं । सोचबुझ गरेर मात्र मतदान गयौं । नभए यसको परिणाम जनता आफैं भोग्नुपर्ने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *