What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
थुनामुक्त भएपछि रास्वपा सभापति रवि लामिछाने केको ‘हिसाब’ खोजिरहेका छन्
What To Know
- “म र मेरो दलमाथि जति अन्याय थिचोमिचो गरेको भए पनि कुनै पनि राजनीतिक पुस्ताका नेता प्रति राजनीतिक प्रतिशोध गर्ने छैनौँ। तर यो देशलाई ३०-३५ वर्षसम्म जसरी राखियो त्यसको हिसाब त गर्नु पर्छ साथी हो। त्यसको हिसाब त माग्छु म,” उनले भने।.
- यसअघि सत्ता र शक्तिमा रहेका दलका नेताहरूलाई लक्षित गर्दै इतिहासमा योगदान पुर्याएका नेताहरूलाई ‘सुरक्षित र सम्मानित ठाउँमा राख्ने’ लामिछानेले चेतावनी थियो।.
काठमाडाैं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने क्रममा अघिल्लो सरकारप्रति लक्षित गर्दै आक्रामक अभिव्यक्ति दिए।
तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर शुक्रवार थुनामुक्त भएलगत्तै पनि लामिछानेले आफूमाथि परेको अन्यायको हिसाब खोज्ने बताएका थिए।
आफूलाई अघिल्लो सरकारले ‘प्रतिशोधपूर्वक मुद्दा चलाएको’ दाबी गर्दै आएका लामिछानेले आइतवार पार्टी कार्यालय पुगेर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा विघटित प्रतिनिधिसभाका संसदहरूको हस्ताक्षर गरिरहेका नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनावी मैदानमा आउन चुनौती दिए।
दल र राजनीतिक शक्तिको नाम उल्लेख नगरी उनले ‘भागेका केही शक्ति आफैँ सानोतिनो घटना घटाएर चुनाव बिथोल्न लागिरहेको’ आरोप लगाए।
“चुनावको वातावरण बिगार्न पर्दैन। पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भइगयो,” हालै पार्टी नेतृत्वमा पुनर्निर्वाचित भएका एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै लामिछानेले भने।
‘हिसाब मिलाउन बाँकी नै छ’
भदौको विद्रोहमा उत्रिएका जेन जीको माग पूरा गर्न, निर्वाचन गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सुशीला कार्कीलाई साथ दिने बाचा गरेका लामिछानेले थुनामुक्त भएलगत्तै पुराना राजनीतिक शक्तिप्रति लक्षित गर्दै आफूले हिसाब खोजिरहेको बताएका छन्।
“यिनीहरूले यो देशमाथि गरेको अन्यायका अगाडी ममाथि गरेको अन्याय केही पनि होइन त्यो सबै हिसाब गर्नु छ,” रिहा भएकै दिन रुपन्देहीमा उनले भने। “हिसाब मिलाउन बाँकी नै छ।”
त्यसको भोलिपल्ट आफ्नो चुनावी क्षेत्र चितवनको भरतपुर पुगेका लामिछानेले कुनै दलप्रति प्रतिशोध नसाँध्ने वाचा गरे। त्यससो भनिरहँदा पनि उनले हिसाबको प्रसङ्ग छुटाएनन्।
“म र मेरो दलमाथि जति अन्याय थिचोमिचो गरेको भए पनि कुनै पनि राजनीतिक पुस्ताका नेता प्रति राजनीतिक प्रतिशोध गर्ने छैनौँ। तर यो देशलाई ३०-३५ वर्षसम्म जसरी राखियो त्यसको हिसाब त गर्नु पर्छ साथी हो। त्यसको हिसाब त माग्छु म,” उनले भने।
‘थान्कोमा बस्न चेतावनी’
यसअघि सत्ता र शक्तिमा रहेका दलका नेताहरूलाई लक्षित गर्दै इतिहासमा योगदान पुर्याएका नेताहरूलाई ‘सुरक्षित र सम्मानित ठाउँमा राख्ने’ लामिछानेले चेतावनी थियो।
“तर त्यो सम्मानित ठाउँमा बस्ने/नबस्ने भन्ने कुरा उहाँहरूको अभिव्यक्ति र व्यवहारमा फरक पर्छ,” उनले भने।
उनी त्यतिमा मात्रै रोकिएनन् पुराना नेताहरूलाई थान्कोमा बस्न चेतावनी समेत दिए।
“भविष्य हामीले बनाउने हो। इतिहास तपाईँले कोर्नुभयो, धन्यवाद! थान्कोमा बस्नुस् है। दुई तिहाइको दम्भ, भिडभाडको दम्भ र पाखुराको दम्भ देखाउनु भयो भने त फेरी हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ,” उनले भने।
यसअघि भदौ २४ को आन्दोलनमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कतिपय राजनीतिक नेताहरूमाथि भौतिक आक्रमण समेत भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई नेपाली सेनाले प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टरमा उद्धार गरेको थियो।






