थपिए चालिस हजार मतदाता

काठमाडौँ । पछिल्लो तीन महिनामा करिब ४० हजार मतदाता थपिएका छन् । रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मिति घोषणा हुनुभन्दा अघिसम्म नामावली सङ्कलन गर्दा करिब ४० हजार मतदाता थपिएका हुन् । उपनिर्वाचनको मिति घोषणापछि असारमा रोकिएको नामावली सङ्कलन असोज ८ गतेदेखि खुला भएको हो । प्रतिनिधि सभा सदस्यको फागुन २१ मा हुने निर्वाचनका लागि अध्यादेशमार्फत कानुन संशोधन गरी मतदाता नामावली सङ्कलन खुलाइएको हो । नामावली सङ्कलन कात्तिक २० गतेसम्म जारी रहने छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कात्तिक १६ गतेसम्म मतदान गर्न योग्य एक करोड ८१ लाख ६८ हजार २३० मतदाता कायम भएका छन् । यसअघि सो सङ्ख्या एक करोड ८१ लाख २८ हजार ८३२ थियो । पछिल्लो तीन महिनामा ३९ हजार ३९८ मतदाता थपिएका छन् ।

प्रवक्ता भट्टराईले राष्ट्रपतिबाट अध्यादेश जारी भएर कानुनी अवरोध हटेपछि प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली सङ्कलन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “१६ वर्ष उमेर पूरा भएकाको कात्तिक २० गतेसम्म नामावली सङ्कलन हुने छ । फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् । नयाँ थपिनेको अद्यावधिक तथ्याङ्क निर्वाचन हुनुभन्दा अघि सार्वजनिक गरिने छ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *