गेटा आँखा अस्पताल आन्दोलनको भण्डाफोर: कर्मचारीहरुबाट पैसा लिएर आन्दोलन गरेको खुलासा

What To Know

  • अस्पतालको विकासभन्दा व्यक्तिगत स्वार्थबाट प्रेरित र पूर्वाग्रही रूपमा व्यक्तिलक्षित माग राखिएको तथाकथित संघर्ष समिति ‘झोलभात र जाँडमा बिकेको’ भन्ने आरोपलाई पुष्टि गर्न गेटा आँखा अस्पतालमा कार्यरत, पुर्ख्यौली घर बैतडी भएका जिल्ला सभापति तथा व्यवस्थापन समिति अध्यक्ष लोकराज जोशी, प्रमुख प्रशासक दीर्घबहादुर चन्द, बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्ट र गोविन्दप्रसाद जोशीलाई कारबाही गर्नुपर्ने माग नै पर्याप्त रहेको दाबी गरिएको छ।.
  • त्यस्तै, बहुचर्चित तथा बहुप्रतीक्षित संगठन र व्यवस्थापनसम्बन्धी प्रक्रिया, दरबन्दी निर्धारणलगायतका काम प्रभावित भएका छन्। सुदूरपश्चिम गेटा आँखा तथा कान उपचार परियोजना समयमा कार्यान्वयन हुन नसकेको, आगामी वार्षिक बजेट अन्योलमा परेको तथा वार्षिक योजना तर्जुमा गोष्ठी हुने नहुने अन्योल रहेको बताइएको छ। गोष्ठी भए पनि त्यसबाट अपेक्षित परिणाम प्राप्त नहुने अवस्था रहेको दाबी गरिएको छ।.

सुनिल कार्की
धनगढी । गेटा आँखा अस्पतालमा २०८३ जेठ महिनामा सञ्चालन भएको कर्मचारी आन्दोलन भाडामा सञ्चालित भएको खुल्न आएको छ। नेपाल नेत्रज्योति संघले आ. व. २०८२/८३ मा नेपाल सरकारले बढाएको महँगी भत्ता उपलब्ध गराउने विषयमा सम्बोधन गरिसकेको भए पनि सोही विषयलाई अनावश्यक रूपमा उचालेर २०८३/०२/०४ गते अस्पतालबाट उपलब्ध हुने सबै सेवा अकस्मात् ठप्प पारिएको थियो। अन्य सोझासाझा तथा कर्तव्यनिष्ठ कर्मचारीलाई डर, धाकधम्की र जालझेलमा पारेर आन्दोलनमा सहभागी गराइएको आरोप छ।

उक्त आन्दोलनमा आफ्नो पनि सरोकार रहेको भन्दै सोही अस्पतालमा कार्यरत स्थानीय कर्मचारीका नातेदार, छिमेकी, आफूलाई अभियन्ता भन्न रुचाउने केही व्यक्ति तथा स्वघोषित युट्युबे (सनराइज टी. भि., सुदूरखबर, सुदूरपत्र, अत्तरिया अनलाइन लगायत) पत्रकारहरूले एकपक्षीय समाचार सम्प्रेषण गर्दै २०८३/०२/१९ गतेदेखि अवैधानिक र आश्चर्यजनक रूपमा ऐक्यबद्धता जनाएका थिए।

आश्चर्यजनक यस अर्थमा कि नेपाल नेत्रज्योति संघको विधान, प्रशासनिक कार्य सञ्चालन नियमावली २०८०, नेपालको संविधान तथा प्रचलित कानुनमा कुनै सरोकार नभएका स्थानीय व्यक्ति कर्मचारीको आन्दोलनमा कसरी सहभागी भए भन्ने प्रश्न सर्वत्र उठेको छ।

अस्पतालको विकासभन्दा व्यक्तिगत स्वार्थबाट प्रेरित र पूर्वाग्रही रूपमा व्यक्तिलक्षित माग राखिएको तथाकथित संघर्ष समिति ‘झोलभात र जाँडमा बिकेको’ भन्ने आरोपलाई पुष्टि गर्न गेटा आँखा अस्पतालमा कार्यरत, पुर्ख्यौली घर बैतडी भएका जिल्ला सभापति तथा व्यवस्थापन समिति अध्यक्ष लोकराज जोशी, प्रमुख प्रशासक दीर्घबहादुर चन्द, बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्ट र गोविन्दप्रसाद जोशीलाई कारबाही गर्नुपर्ने माग नै पर्याप्त रहेको दाबी गरिएको छ।

यदि निजहरूले गल्ती गरेका भए नियमानुसार छानबिन हुनुपर्ने र दोषी ठहरिए कानुन तथा नियमअनुसार कारबाही हुनुपर्ने थियो। तर, छानबिन हुनुपर्ने माग पीडित पक्षले राख्दा पनि केन्द्रीय कार्यालयले त्यसलाई बेवास्ता गरेको आरोप छ।

यसैबीच, लोकराज जोशीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिलाई बर्खास्त गरिएको छ। प्रमुख प्रशासकको करार नवीकरण नगर्नुका साथै स्थायी कर्मचारी, अस्पताल व्यवस्थापक तथा वरिष्ठ प्रशासकीय अधिकृत गोविन्दप्रसाद जोशीलाई आँखा उपचार केन्द्र धनगढी, बुद्धमन्दिरमा जिम्मेवारीविहीन बनाएर नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयले आफ्नो लाचारीपन उदाङ्गो पारेको आरोप लगाइएको छ।

केही कर्मचारीको व्यक्तिगत स्वार्थबाट प्रेरित आन्दोलनका कारण हाल अस्पतालको उपचार सेवा अस्तव्यस्त भएको दाबी गरिएको छ। आवश्यक सामग्री आपूर्ति गर्ने खरिद प्रक्रिया अवरुद्ध भएको, कर्मचारीले समयमा तलब नपाएको तथा पाए पनि ढिलो गरी पाएको बताइएको छ।

त्यस्तै, बहुचर्चित तथा बहुप्रतीक्षित संगठन र व्यवस्थापनसम्बन्धी प्रक्रिया, दरबन्दी निर्धारणलगायतका काम प्रभावित भएका छन्। सुदूरपश्चिम गेटा आँखा तथा कान उपचार परियोजना समयमा कार्यान्वयन हुन नसकेको, आगामी वार्षिक बजेट अन्योलमा परेको तथा वार्षिक योजना तर्जुमा गोष्ठी हुने नहुने अन्योल रहेको बताइएको छ। गोष्ठी भए पनि त्यसबाट अपेक्षित परिणाम प्राप्त नहुने अवस्था रहेको दाबी गरिएको छ।

गेटा आँखा अस्पताल केही स्थानीय कर्मचारी, उनीहरूका नातेदार, आसेपासे, छिमेकी तथा आफूलाई अभियन्ता बताउने व्यक्तिहरूको स्वार्थको द्वन्द्वका कारण धराशायी हुने अवस्थामा पुगेको आरोप लगाइएको छ। यसका लागि २०८३/०२/१९ गते गेटास्थित फूलकुमारी होटलमा आयोजना गरिएको कथित् वृहत् भेलाको उपस्थिति तथा कथित् संघर्ष समितिको नामावली हेर्न सकिने उल्लेख गरिएको छ।

उक्त उपस्थितिमा गेटा आँखा अस्पतालमा कार्यरत कर्मचारीका थुप्रै आफन्त, नातेदार तथा छिमेकीका साथै नेपाल नेत्रज्योति संघका आजीवन सदस्यहरूको समेत नाम रहेको दाबी गरिएको छ।

विश्वस्त सूत्रबाट प्राप्त जानकारीअनुसार, कर्मचारीको हकहितका लागि सबै कर्मचारीले सहयोग गर्नुपर्ने भन्दै जबर्जस्ती प्रतिकर्मचारी कम्तीमा रु. दस हजार उठाइएको थियो। उक्त रकम आन्दोलनमा सहभागी व्यक्ति, तथाकथित अभियन्ता तथा मिडियाकर्मीलाई आन्दोलन गरेबापत भाडा वा ज्यालादारीका रूपमा दिइएको खुल्न आएको दाबी गरिएको छ।

अधिकांश कर्मचारीले नगद रकम बुझाएको भए पनि केही कर्मचारीले आन्दोलनका अगुवा कर्मचारीको बैंक खातामा रकम जम्मा गरेको तथ्यसमेत खुल्न आएको बताइएको छ।

स्थानीय आन्दोलनकारीले नेपालको प्रचलित कानुन, नेपाल नेत्रज्योति संघको विधान तथा नियमावलीविपरीतका विभिन्न माग राखेर अस्पतालको दैनिक कामकारबाही तथा सेवाग्राहीले पाउनुपर्ने सहज उपचार सेवामा समेत असर पुर्‍याएको आरोप छ। साथै, उनीहरूले अस्पताल परिसरमा डर, त्रास तथा तनावको वातावरण सिर्जना गरेको दाबी गरिएको छ।

स्थानीय आन्दोलनकारीले यसअघि वाचा गरिएअनुसार रकम नदिएको भन्दै गेटा आँखा अस्पतालका अगुवा कर्मचारीसँग थप पैसा दिन दबाब दिएको समेत खुल्न आएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *