मोदीले गरे प्रधानमन्त्री कार्कीको मुक्तकण्ठले प्रशंसा, जेन जी युवा बारे के भने ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार (भदौ २८) मणिपुरबाट नेपालप्रति मित्रताको सन्देश पठाएका छन्। उनले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै नेपाल–भारतबीचको गहिरो सम्बन्धलाई पुनः पुष्टि गरेका छन्।

सन् २०२३ मा हिंसा भड्किएपछि द्वन्द्वग्रस्त मणिपुरको पहिलो भ्रमणका क्रममा इम्फालमा आयोजित सभामा उनले नेपाल भारतको नजिकको मित्र भएको बताए। उनले दुई देश साझा इतिहास र विश्वासले जोडिएका छन् भन्दै सँगै अघि बढिरहेको उल्लेख गरे।

मोदीले भने, “आज मणिपुरको भूमिबाट म नेपालका मेरा सहकर्मीलाई सम्बोधन गर्न चाहन्छु। नेपाल भारतको घनिष्ठ मित्र हो। हामी साझा इतिहास र विश्वासले जोडिएका छौँ र सँगै अघि बढिरहेका छौँ।”

अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीलाई १.४ अर्ब भारतीय नागरिकका तर्फबाट बधाई दिँदै मोदीले उनले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग खोल्ने विश्वास व्यक्त गरे। उनले कार्कीलाई महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण भन्दै प्रशंसा गरे।

अस्थिर अवस्थामासमेत लोकतान्त्रिक मूल्यलाई सर्वोच्च राखेको भन्दै मोदीले नेपाली लोकतन्त्रको प्रगतिशीलताबारे पनि सकारात्मक टिप्पणी गरे। उनले हालैको आन्दोलनका क्रममा नेपाली युवाले सडक सफा गरेको र पेन्ट गरेको उदाहरण उल्लेख गर्दै त्यो नयाँ नेपालको उदयको स्पष्ट संकेत भएको बताए।

युवाको नेतृत्वमा भ्रष्टाचारविरोधी आन्दोलनपछि केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्कीले शीतलनिवासमा नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा शपथ लिएकी थिइन्।

देशमा शान्ति कायम गर्ने र आउँदो मार्च ५ मा हुने संसदीय निर्वाचनको तयारी गर्ने जिम्मेवारी पाएको कार्कीको अन्तरिम सरकारलाई भारतले स्वागत गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कार्कीको नियुक्तिलाई ‘जेन–जी’ पुस्ताले डिस्कोर्डमा भएको सार्वजनिक मतदानमार्फत समर्थन गरेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *