बंगलादेशमा सैन्य शासन लागु हुने

काठमाडाैं । शेख हसिनाको राजिनामाले बंगलादेशमा राजनीतिक अस्थिरता झनै बढेको छ । तर, छिट्टै देशमा सैनिक शासन लागु हुने भएकाे छ। यस्तो अवस्थामा बंगलादेशमा अब वकार–उज–जमानको नेतृत्वमा सेनाले शासन गर्नेछ । प्रधानमन्त्री हसिना विदेश पलायन भएको विवरण आएपछि सेनाप्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्।

हसिनाको विमान सोमवार साँझ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेको विवरणहरू आएका छन्। उनी भारतमा नै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने अहिलेसम्म थाहा भइसकेको छैन।

कतिपय स्थानीय सञ्चारमाध्यमले हसिना लन्डन जान सक्ने विवरण प्रकाशन गरेका छन्। तर त्यसको पुष्टि भइसकेको छैन।

यसअघि बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै सेनाको हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएको बताएका थिए। समाचारसंस्था एफएपीसँग हसिनासँग निकट स्रोतले उक्त कुराको पुष्टि गरेको थियो।

ती अधिकारीले एएफपीसँग भने, “उनी र उनकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन्। जानुअघि उनी आफ्नो वक्तव्य रेकर्ड गराउन चाहन्थिन् तर उनलाई त्यसको अवसर दिइएन।”

सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो।

उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए।

किन छोडिन् देश

हसिनाका छोरा सजीब अहमद वाजेद जोयले आफ्नी आमाले आइतवारदेखि राजीनामा दिने विषयमा विचार गरेको बताए। उनका अनुसार परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेकी हुन्।

हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि थिए। उनी अमेरिकामा छन्।

उनले आफ्नी आमा अब राजनीतिमा नफर्किने सङ्केत बीबीसीको न्यूजआवरसँग गरे। उनका अनुसार “आफूले कडा परिश्रम गरेको भए पनि अल्पमत उनीविरुद्ध उठेको” देखेर हसिना दुःखित भएकी थिइन्।

“मलाई लाग्छ, अब सकियो। मेरो परिवार र हामीले धेरै खेप्यौँ।”

उनले हसिनाको कार्यकालको प्रतिरक्षा गर्दै भने, “उहाँले बाङ्ग्लादेशको कायापलट गर्नुभयो। उहाँ सत्तामा आउँदा बाङ्ग्लादेशलाई विफल राज्य मानिन्थ्यो। यो गरिब देश थियो। आजसम्म यसलाई एशियाको उदीयमान बाघमध्ये एक मानिन्थ्यो। उहाँ निकै दुःखित हुनुहुन्छ।”

बाङ्ग्लादेशमा अहिले कस्तो छ अवस्था

हसिनाको पलायनपछि धेरैले हर्षोल्लास गरेको भए पनि देशका ठाउँठाउँमा लुटपाट र तोडफोड भएको विवरण आएको छ।

साँझ ६:३० बजेतिर ढाकास्थित प्रहरी मुख्यालयमा सयौँको सङ्ख्यामा लट्ठी बोकेर आएका प्रदर्शनकारीहरूले आक्रमण गरेको बीबीसी बाङ्ग्लाका संवाददाताहरूले जनाएका छन्। उनीहरूले त्यहाँ तोडफोड पनि गरे।

तर उक्त घटनामा कोही हताहत भने भएनन्।

देशका अन्य भागमा पनि प्रहरी चौकीहरूमा आक्रमण भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *