काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
गाडीमा यात्रा गर्दा वाकवाकी लाग्छ ? दशैंमा टाढाकाे यात्रा गर्दा अपनाउनुहाेस् यी उपाय !
काठमाडाैँ । के तपाईँ पनि मोटर गाडी र हवाई जहाजमा यात्रा गर्दा रिँगटा लाग्ने, वाकवाकी आउने, असहज अनुभव गर्ने समस्याबाट पीडित हुनुहुन्छ ? सामान्य बाेलीचालीकाे भाषामा यस्ताे समस्यालाई गाडी लाग्नु भनिन्छ । यसलाई चिकित्सकीय भाषामा भने माेसन सिकनेस भनिन्छ । याे सामान्य समस्या भए पनि धेरैलाई सताइरहने समस्या हाे । विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा बान्ता आउने सम्भावना बढी हुन्छ ।
चिकित्सकहरूका अनुसार यो गम्भीर समस्या त होइन, तर यसले बेचैनी, पसिना आउने, रिँगटा लाग्ने र वान्तासम्म हुने भएकाले व्यक्तिलाई कमजाेर एवं आलस्य बनाउँछ । त्यसैले यात्राका बेला गाडी लाग्ने अर्थात मोसन सिकनेसको समस्या छ भने चिकित्सकको सल्लाह लिएर औषधि सेवन गरेर यात्रा गर्न चिकित्सकको सुझाब छ ।
गाडी लाग्नु भनेको व्यक्ति विशेषको शरीरको सन्तुलनलाई अनुभव गर्ने अवस्थासँग जोडिएको समस्या हो । यात्रा गर्दा शरीरको इन्द्रियहरु आँखा कान आदिले सन्तुलित ढंगबाट आआफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य बान्ता उत्पन्न हुने चिकित्सकहरु बताउँछन् ।
मोसन सिकनेसबाट बच्ने तरिकाः
पहिलाे कुरा त मानसिक रूपमा नै तयार हुनुपर्छ बान्ता हुन्छ की रिंगाटा लाग्छ की भन्ने जस्ता कुराहरू मनमा लिएर बस्नु हुँदैन । यस्तै गाडीमा बसेको बेला सीधा हेर्ने गरे यो समस्या कम हुन्छ । आँखाको दृष्टि झ्याल छेउछाउका वस्तुमा भन्दा टाढा केन्द्रित गर्नुपर्छ ।
गाडीको पछिल्लो सिटमा बस्दा गतिको अनुभूति बढी हुन्छ, त्यही भएर गाडी लाग्ने अर्थात मोसन सिकनेस भएकाहरूले सम्भव भएसम्म गाडीको अगाडि बस्नुपर्छ । गाडि लाग्ने व्यक्तिहरूले यात्रा गर्नुअघि प्रोक्लोरपेराजिन वा जेनरिक नाम भएको औषधि सेवन गर्दा राहत मिल्छ ।
त्यस्तै हावा आउने गरी झ्यालपट्टीकाे सिटमा बस्ने प्रयास गर्नुपर्छ । कतिपयलाई ब्रेक तेल अथवा डिजेलकाे गन्ध मन नपर्ने पनि हुनसक्छ । त्यसैले गाडि राेकेकाे अवस्थामा बाहिर निस्केर फ्रेस हावा लिनु पनि उपयुक्त हुन्छ ।
हाजमाेला कागति यस्तै हलुका अमिलाे पिराे मिश्रित पाउ खाँदा पनि बान्ता हुँदैन । खालीपेट यात्रा गर्नु पनि हुँदैन । चकटलेट खाँदा पनि राम्राे हुन्छ ।
सम्झिनुस् है
– गाडी चढ्दा मुखमा अदुवा ल्वाङ, सुकमेल/इलाइची को सानो टुक्रा वा चकलेट/क्याण्डी राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ ।
– गाडीमा यात्रा गरिरहँदा मन भुलाउन भनेर किताब पढ्ने वा मोबाइल चलाउने नगर्नुस । यसो गर्दा चक्कर लाग्छ र पेट बटार्छ । वान्ता हुन्छ भन्ने कुरा त साेच्दै नसाेच्नु
– यात्रामा निस्कँदा पेट खाली नराख्नुस । साथै पेट टन्न हुने गरी भारी चिज पनि नखानुस । धेरै अमिलो-पिरो खानेकुराबाट पनि टाढा रहनुस । यस्तो खानेकुरा पच्न समय लाग्ने भएकाले यात्रा गर्दा असुविधा हुन सक्छ ।
– आफ्नो रुमालमा पुदिनाको तेलको केही थोपा छर्किनुस र यात्रा गर्दा बारम्बार सुँघिरहनुस । यसको अलावा पुदिनायुक्त चिया पनि पिउन सक्नुहुन्छ ।
– गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्नु । गाडीभित्र हावा पस्न दिनुस । नजिककाे चिज नहेर्नु सम्भव भएसम्म पारी टाढा हेर्नु
कसलाई हुन्छ मोसन सिकनेस ?
हुन त याे समस्याले सबै उमेर समूहका मानिसहरूलाई सताइरहेकाे हुन्छ । त्यसमा पनि खास गरी दुई वर्षदेखि बाह्र वर्षसम्मका बालबालिका यस्तो समस्याप्रति अति संवेदनशील हुन्छन् । महिलालाई पनि बढी मोसन सिकनेस हुने गर्दछ । गर्भवती, रजस्वला भइरहेका वा हार्मोन लिइरहेका महिलाहरूलाई पनि गाडी लाग्ने अर्थात मोसन सिकनेस हुन्छ । माइग्रेन भएकाहरूलाई समेत बढी मोसन सिकनेस हुने गर्दछ ।
मोसन सिकनेस के हाे ?
मोसन सिकनेस शरीरका इन्द्रियहरूको सन्तुलनसँग सम्बन्धित छ । जब कान, आँखा र शरीरले गति अथवा चहलपहल सम्बन्धी सूचनालाई विरोधाभाषपूर्ण ढंगले हाम्रो दिमागमा प्रवाह गर्छ, तब मोसन सिकनेस हुन्छ । हाम्रो शरीर गतिमा छ भने भित्री कान (लेबिरिन्थ) ले थाहा पाउँछ तर, शरीरका अरु भागले त्यो थाहा नपाउँदा फरक फरक सूचना हाम्रो मस्तिष्कमा पुग्छ ।
हाम्रो कानभित्र तीनवटा अर्धवृत्ताकार नलीहरू हुन्छन् । ती नलीहरू सामान्यतया एक आपसमा समकोण परेर बसेका हुन्छन्, जुन चालसित सम्बन्धित हुन्छन् र चालको सूचना यिनै नली मार्फत मस्तिष्कको भेस्टिबुलर न्युक्लियसमा पुग्दछ । केही-कोही मानिसहरूमा ज्यादै नै संवेदनशील भेस्टिबुलर स्नायूहरू हुन्छन् । त्यस्ता मानिसहरू लगातार कुनै चलिरहेको गाडीमा बस्दा उनीहरूको मस्तिष्कको भेस्टिबुलर न्युक्लियस नजिकै भेगस न्युक्लिइ भन्ने स्नायुकेन्द्र पर्दछ । भेगस स्नायु उत्तेजित हुँदा सामान्यतया वाकवाकी लाग्ने र वान्ता हुने गर्दछ ।