अष्ट्रेलियामा पानी परेपछि झन् डढेलाेकाे खतरा बढ्याे

मेलबर्न। डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अष्ट्रेलियाकाे केही स्थानमा पानी परेको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ । वर्षाले सबैमा आशा जगाएतापनि विज्ञहरुले भने डढेलो नियन्त्रणमा झन् कठिनाइ हुने बताएका छन् । विज्ञहरुका अनुसार, मंगलबार देखि घाम झन् चर्को हुनसक्नेछ र तापक्रम बढी भइ डढेलो नियन्त्रणमा झनै कठीनाइ हुन सक्नेछ ।

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अष्ट्रेलियामा विकराल रुप लिएको छ । आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ । अष्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान चेतावनी दिइन् । डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् ।

यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् । यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् ।

तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चेतावनी दिँदै भने, ‘तापक्रम बढ्नेछ र डढेलो पुनः सक्रिय हुनेछन् ।’

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *