कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार

पोखरा । गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ । चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ दुई ठूला छिमेकी राष्ट्रलाई जोडने यो सडक निर्माण समग्र प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने बताउनुहुन्छ ।

सडकको विकासलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सडक निर्माणका लागि संघीय सरकारसँग आवश्यक सहयोग मागेको छ ।

“कोरालादेखि सुस्तापूर्व त्रिवेणीसम्म सडक निर्माणका लागि चीनको एउटा कम्पनीले निःशुल्क डिपीआर तयार गर्न चासो देखाएको छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “आवश्यक लागत आएपछि संघ र प्रदेशबीच समन्वय गरी निर्माण अघि बढाउँछौँ ।”

गण्डकी प्रदेशकै त्रिवेणी पुग्नका लागि सडकको अभाव भएकाले पोखराबाट चितवन हुँदै प्रदेश नं ५ को बर्दघाट पुग्नुपर्ने बाध्यता रहेकाले उक्त सडकले पूर्णता पाएपछि पोखराबाटै सिधँै दक्षिणको त्रिवेणी र उत्तरको कोरला पुग्न सकिने मुख्यमन्त्री गुरुङ बताउनुहुन्छ । सो क्षेत्रको स्थलगत निरीक्षणपश्चात रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “पोखराबाट छोटो दूरीमा पूर्व पश्चिम राजमार्गको उपयुक्त स्थानमा जोड्ने गरी सम्भाव्यता अध्ययन गरिनेछ ।”

चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रबाट सडक निर्माणसँगै एक दशकअघिदेखि बन्द भएको त्रिवेणी छोटी भन्सारको स्तरोेन्नति गरेर आवश्यक भौतिक संरचना निर्माण गरी पूर्णरुपमा सञ्चालन गर्न भारतसँग आवश्यक पहल गरिदिन संघीय सरकारलाई प्रदेश मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा समावेश हुन पाउँदा खुशी बने पनि सुस्ता पूर्व विनय त्रिवेणी नगरपालिका– ६ र ७ का बासिन्दा सडक सञ्जालसँग नजोडिँदा चिन्तित छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरा जोडने सडक चाँडो निर्माण हुने आशमा रहेका नवलपुरका बासिन्दा त्यही जिल्लाको सदरमुकाम कावासोती पुग्न प्रदेश नं ५ को सुस्ता बर्दघाट हुँदै जान बाध्य भएकमा विनय त्रिवेणी नगरपालिका– ७ का प्रमोद रौनीयार बताउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट सडक खुल्न नसक्दा स्थानीयवासीले प्रदेश नं ५ को बर्दघाटबजार भएर कावासोती पुग्न करीब २५ किलोमिटर यात्रा गर्नुपर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *