धार्मिक भ्रमणको नाममा गैरकानूनी धन्दा, दूतावासकै कर्मचारीको मिलेमतो

काठमाडौँ । सरकारले केही मूलुकहरुमा बैदेशिक रोजगारीका लागि जान रोक लगाएको छ । तर त्यस्ता मुुलूकहरुमा टुरिष्ट भिसामा गएर अबैधानिक रुपमा उतै काम गरेर बस्ने क्रम भने अझै रोकिएको छैन । सरकारले नीतिगत रुपमा कडाई गरेपनि बिभिन्न म्यानपावर कम्पनी, ट्राभल एजेन्ट र सम्बन्धित दुताबासको कर्मचारीको मिलेमतोमा टूरिष्ट भिजा मिलाएर बिदेश पठाउने गरेका छन् ।

धामिर्क भ्रमणको नाममा बिदेश जाने र उतै लुक्ने गरेको तथ्य बाहिरिएको छ । यसका लागि क्रिश्चियन धर्मप्रचारकहरुले महत्वपूर्ण भूमिका खेल्ने गरेकाे नयाँ तथ्य भेटिएकाे छ । गत मे २४ मा एक हप्ते धार्मिक भ्रमण भन्दै इजरायल पुगेका २७ जना नेपालीमध्ये २ जना अबैध रुपमा रोजगारीका लागि उतै लुकेका छन् । उनीहरु नेपाली भ्रमण टोलीलाई छाडेर इजरायलमै काम गर्न थालेको खुलेको छ ।

फरार हुनेमा झापाकी निशा पाख्रिन र काठमाडौंको महाराजगञ्न बस्ने शोभा तामाङ रहेका छन् । उनीहरु क्रिश्चियन धर्म सम्बन्धी होली ल्याण्ड टुर–२०१९ का लागि एबिलिटी ट्राभल्स एण्ड टुर्सको जिम्मामा इजरायल गएका थिए ।

एबिलिटी ट्राभल्स एण्ड टुर्सका अध्यक्ष जनकराज शर्माको नेतृत्वमा २७ सदस्यीय नेपाली भ्रमण टोली मे २४ देखी ३१ सम्म ७ दिनको लागि भन्दै नेपालबाट इजरायल पुगेको थियो । भ्रमण टोलीलाई शुभकामना सहित विदाइ गर्न नेपालका लागि इजरायलका राजदुत बेन ओमेर विमानस्थलमै पुगेका थिए ।

भ्रमणको अन्तिम दिन नेपाल फर्किनुअघि इजरायलस्थित नेपाली दुतावासको राजदुत डा. अन्जान शाक्यलेसमेत भ्रमण टोलीसँग भेटघाट गर्नुभएको थियो । होली ल्याण्ड टुर–२०१९ नाम दिइएको सो भ्रमण टोलीमा जाने सबै क्रिश्चियन समुदायका नेपाली हुन् ।

बेखबर नेपाली राजदुतावास

जी टु जी प्रणाली मार्फत केयरगिभर रोजगारीको व्यवस्थापन गर्ने भनिए पनि इजरायल सरकार र नेपाल सरकारबीच २०७२ साल साउनमा गरिएको श्रम सम्झौता समय अगाडी नै रद्द भएको बुझिएको छ । मासिक नेपाली १ लाख रुपैयाँ भन्दा बढी पैसा कमाउने लोभमा यसैगरि विभिन्न समयमा भ्रमण भिसामा गइ लुक्ने गरेपनि इजरायस्थित नेपाली राजदुतावासमा अबैधानिक रुपमा कति नेपाली रोजगारीमा छन् भन्ने तथ्याङ्क छैन ।

टुरिष्ट भिषामा विदेश जान खोज्नेहरुलाई जान लागेको मुलुकमा रहेको नेपाली दूताबासबाट स्पोन्सर लेटरसमेत माग गर्ने भनिए पनि दुबई लगायत केही खाडी मुलुक अन्य मुलुकको हकमा सो नियम लागु हुन सकेको छैन । परराष्ट्र  मन्त्रालयले टुरिष्ट भिसामा जाने र उतै हराउने गरेपछि निगरानी बढाइएको बताएपनि नक्कली टुरिष्ट बनेर वैदेशिक रोजगारीमा जाने क्रम झन् बढ्दो छ । अबैध बाटोबाट बैदेशिक रोजगारीमा जानेहरुलाई दुताबासकै कर्मचारीहरुले सेटिङ मिलाउन सहयोग गर्ने गरेको एक अधिकारीले बताए । होली ल्याण्ड टुरमा गएकाहरु बेपत्ता भएको विषयमा पनि सरकारी निकायबाट कुनै छानबिन नभएको उनले बताए ।

इजरायल सरकारले केयरगिभरका लागि ४ वर्ष १० महिनाको भिसा उपलब्ध गराउँदै आएको थियो । नेपाली कामदारका लागि निकै आकर्षणको श्रम गन्तव्यस्थल रहेको इजरायल केही समय यता भने श्रम रोजगारीका लागि बन्द छ । तर आकर्षक तलब कै कारण जोखिम मोलेर गैरकानुनी रुपमा नेपालीहरु जाने गरेका छन् ।

छात्रबृतिमा पढ्न गएका दुई विद्याथी हराए

लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत पढ्न गएका दुई विधार्थीहरु समेत सम्पर्क बिहीन भएका छन् । झापाली समाजले आयोजनाले गरेको एक कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत डा अन्जन शाक्यले उनीहरु हराएकाे पुष्टी गर्नुभयाे ।  डा साक्यका अनुसार नेपालीहरु हराउनेक्रम रोकिए नेपालीहरुलाई दिँदै आएको छात्रबृति कोटा नै रोक्न सक्नेप्रति इजराइली उच्च अधिकारीहरुले सचेत गराएका छन् ।

इजरायली दूतावास एवं साना किसान विकास बैंकले स्थानीय वित्तीय र प्राविधिक शिक्षण संस्थाहरूको सहयोगमा सन् २०१३ देखि ‘सिकाइ तथा कमाइ’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । गाउँ–गाउँबाट गोलाप्रथा एवं अन्तर्वार्तामार्फत योग्य उम्मेदवारको छनोट हुन्छ । उनीहरूले ११ महिने बसाइमा साताको एक दिन पढाइ, पाँच दिन कृषि फार्ममा काम र एक दिन आराम गर्न पाउँछन् । विभिन्न जिल्लाबाट छनोट हुने युवायुवतीले सम्झौताअनुरूप इजरायलका पाँच बिभिन्न कलेजमा पढ्न पाउँछन् । यसैका लागि गएका नेपाली विद्यार्थी सम्पर्क बिहीन भएका हुन् । सम्पर्क विहीन भएका ती विद्यार्थीको परिचय खुलेको छैन ।

इजरायलले नेपालसहित थाइल्यान्ड, भियतनाम, सुडान, नाइजेरिया र फिलिपिन्सलगायतका विभिन्न मुलुकका युवायुवतीलाई पढ्ने र काम गर्ने अवसर दिँदै आएको छ । हाल करिब ४ सय पचास नेपाली युवा, विद्यार्थी इजरायलको विभिन्न स्थानमा कृषि काम गरिरहेका छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *