प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुभएको हो । आइतबार संसदमा सम्बोधन गर्दै उहाँले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा लगाइसक्ने बताउनुभएको थियो ।

प्रधानमन्त्रीले आज अपरान्ह ५ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता उपस्थित हुनेछन् । त्यसअघि नेपाली कांग्रेस र नेकपाबीच छुट्टै छलफल हुने जनाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको सन्दर्भमा सर्वदलीय बैठक बोलाइएको हो । दईवटा आयोगका लागि नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल भइरहेको छ । दुईमध्ये सत्यनिरूपणका प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट नियुक्त गर्नेबारे दई दलका नेताबीच छलफल भइरहेको छ । सत्यनिरूपणको प्रमुखमा गोविन्द बन्दी र बेपत्तामा सूर्य ढुंगेलको नाम चर्चामा छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *