काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
अझै खुलेन महेन्द्र राजमार्ग, हजारौँ यात्रु बीच बाटोमा अलपत्र
कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा २४ घण्टादेखि राजमार्ग अवरुद्ध रहेको छ । अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्शन’ आइतबार साँझ बाढीले बगाएकाले राजमार्ग अवरुद्ध भएको हो । अहिले पनि खोलामा पानीको मात्र बढिरहेकाले ‘डाइभर्शन’ मर्मतको काम प्रभावित भएको छ ।
यातायात अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको लामो लाइन भएको छ । चौबिस घण्टादेखि राजमार्ग अवरुद्ध हँुदा यात्रुलाई सास्ती भएको छ । डाइभर्शन निर्माण गरी यातायात सहज हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पानीका कारण मर्मतमा समस्या हुँदा यातायात सञ्चालन कतिबेला हुने हो अनिश्चित जस्तै बनेको उहाँको भनाइ छ ।
डाइभर्शन निर्माण भए पनि रोकिएका यातायात वारपार गराउन घण्टौँ समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । उहाँले नारायणगढ–बुटवल खण्ड भएर यात्रा गर्ने यातायातलाई वैकल्पिक बाटो भएर यात्रा गर्नका लागि अनुरोध गर्नुभएको छ । उहाँका अनुसार काठमाडौँबाट छुटेका यातायातलाई मुग्लिङ्ग–पोखरा–स्याङ्जा हँुदै बुटवलतर्फ जान र बुटवलबाट पूर्वका लागि छुट्ने सवारीलाई समेत पोखरा हुँदै जानका लागि सम्बन्धित जिल्लाका प्रहरीमार्फत समेत खबर गरिएको छ ।
यस्तै २४ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा झण्डै १० किलोमिटर दुवैतर्फ सवारीको लाम लागेको छ । प्रहरीले राजमार्ग अवरुद्ध भएको स्थानमा सवारीको धेरै लाम लाग्ने हँुदा पूर्वबाट आउने यातायातलाई कावासोती र पश्चितर्फबाट आउने यातायातलाई बर्दघाटतर्फ नै रोकिराखेको छ ।
डाइभर्शन मर्मत गरी आजै सवारी सञ्चालन गर्न सक्ने सम्भावना कम रहेको छ । पानीको सतह कम हुँदा केही हलुका सवारी खोलाबाटै आवतजावत गर्ने गरेका छन् । गत साउन २९ गते बुधबार पुलमा ट्रक ठोक्किएर भाँचिदा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।