हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेपालमा पहिलो पटक यी १० फलफूल तथा तरकारीमा विषादी अवशेषको सीमा तोकियो
काठमाडौँ । नेपालमा पहिलो पटक फलफूल तथा तरकारीमा जीवनाषक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरिएको छ । फलफूल तथा तरकारीमा अत्यधिक मात्रामा विषादी प्रयोग भएको भन्दै चिन्ता बढिरहेको बेला बिभिन्न १० प्रकारका फलफूल तथा तरकारीमा म्याक्सिमम रेजिड्यू लिमिट (एमआरएल) निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
बिभागका अनुसार स्याउ, केरा, करेला, भान्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरिएको छ ।
प्रशोधित खानामा यसअघि नै एमआरएल निर्धारण गर्दै आइएको थियो । फलफूल तथा तरकारीमा चाहिँ सीमा तोकिएको पहिलो पटक भएको विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बताउनुभयो ।
थप फलफूल तथा तरकारीमा पनि एमआरएल निर्धारणका लागि गृहकार्य भइरहेको बिभागले जनाएको छ । बिभागका अनुसार सेप्टेम्बर १ तारिखदेखि एमआरएल लागु हुनेछ ।
एमआरएल निर्धारणबारे विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) लाई जानकारी गराइसकिएको र त्यहाँबाट कुनै टिप्पणी नउठेपछि अब लागु गर्ने विषयमा राजपत्रमार्फत् सूचना जारी गर्ने तयारी भइरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।
महर्जनका अनुसार कुनै पनि सदस्य मुलुकले एमआरएल निर्धारणबारे डब्ल्यूटीओलाई जानकारी गराएपछि टिप्पणीका लागि उसले सदस्य राष्ट्रहरूलाई ६० दिने समय उपलब्ध गराउँछ ।
भारतबाट आयातित फलफूल तथा तरकारीमा विषादी परिक्षणको विषयलाई लिएर चर्को आलोचना भइरहेको बेला सरकारले ल्याएको यो नयाँ ब्यवस्थाको विज्ञहरुले भने स्वागत गरेका छन् । ढिलो आए पनि बिभागको कदम स्वागत योग्य भएको उनीहरुले बताएका छन् ।