रासायनिक मलमा कालोबजारी, मर्कामा किसान

राजविराज । सप्तरीका किसान रासायनिक मलको अभावले मारमा परेको छन् । बजारमा मल नपाउँदा मल बिना नै धान रोपाइँ गर्न बाध्य छन । निर्धारित मूल्यको डेढ गुणामा बजारमा रासायनिक मल खुलेयाम बिक्री भइरहेको छ ।

धान रोपाइँका लागि चाहिने डिएपी मलको मुख्य बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड राजविराजमा २० दिन अगावैदेखि सिद्धिएको बताइएको छ । कृषि सामग्रीमा मल सिद्धिएपनि स्थानीय बजारमा मूल्यको डेढ गुणामा मल पाइने गरेको सप्तरीका विष्णुपुर गाउँपालिका १ मलेकपुरका किसान शुभनारायण यादवले बताउनुभयो । कृषि सामग्रीकै कर्मचारीको मिलोमतोे लिमिटेडको परिसर भित्रै रासायनिक मल बिक्री भएर बजारमा महँगो दरम खुलेयाम बिक्री भइरहेको उहाँको आरोप छ ।

कृषि सामग्रीले जिल्लाका विभिन्न डिलर मार्फत बिक्री गर्दै आएको रासायनिक मल डीएपी, युरिया, पोटास ती डिलर मार्फत् सामग्रीको परिसरमै अन्य खुद्रा बिक्रेतालाई महँगो दरमा बिक्री गरेपछि मलमा कालोबजारी भइरहेको मल लिन आएका शुभनारायणको भनाई छ । नियुक्त गरिएका डिलरहरुले किसानको फर्जी नामको सूची दिएर कृषि सामग्रीको गोदामबाटै अर्को खुद्रा पसललाई दिएर महँगो दरमा बेच्ने गरेकोे अर्का किसान देवनारायाण यादवले बताउनुभयो । कृषि सामग्रीका कर्मचारी र डिलरको मिलोमतोमा खुद्रा बिक्रेतालाई रासायनिक मल डीएपी र यूरिया बेच्ने गरेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी दिनुभयो । डिलरहरुका प्रोपाइटरले खरिद गरेको मल आफ्नो संस्थामा कमै मात्रामा लग्छन् । स्थानीय बजारका मलखादका खुद्रा पसलका साहुलाई दिएर बढी मूल्यमा बेच्ने गरेको उहाँले भन्नुभयो ।

सरकारले डीएपी प्रति ५० किलोको बोराको मूल्य दुई हजार १८८, युरिया रु.७३८, पोटास एक हजार ५८८ रुपियाँ तोकेको छ । तर बजारमा डीएपी तीन हजार, युरिया ९५० र पोटास दुई हजार रुपियाँमा खुलेयाम बिक्री भइरहेको किसानहरु बताउँछन् । कृषि सामग्रीबाट खरिद गरी आफ्नो संस्थासम्म लैजान ढुवानी खर्च र मुनाफा सहित बढीमा सात प्रतिशतसम्म थपेर बेच्न पाउने व्यवस्था छ । तर ढुवानी पनि गरिदैन, आफुनो डिलर संस्था र क्षेत्रका किसानलाई मल नदिइ बीच बाटोबाटै महँगो दरमा बिक्री भइरहेको बताइएको छ ।

यता कृषि सामग्री कम्पनी लिमिटेड राजविराजका निमित्त प्रमुख सोनेलाल मुरमुरले भन्नुभयो- कृषि सामग्रीले डिलर मार्फत बिक्री गर्ने हो, सिधै किसानलाई बिक्री गर्ने नियम छैन । डिलरले के गर्छ, के गर्दैनन थाहा छैन ।’ जिल्लामा १६९ वटा डिलरमध्ये १२५ वटामार्फत मल बिक्री हुने गरेको छ । जसमध्ये राजविराज नगरभित्रै एक दर्जन डिलर रहेको छ भने एक दर्जन बढी खुद्रा पसल छन् । जिल्लामा पाँच/पाँच हजार मेट्रिक टन डीएपी, युरिया र तीन सय मेट्रिक टन पोटासको आवश्यकता रहेको छ । तर, अहिलेसम्ममा डीएपी तीन हजार ५३८.७५, युरिया छ हजार १८०.४५ र पोटास २७३.१५ मेट्रिक टन आपूर्ती भएको निमित्त प्रमुख मुरमुरले जानकारी दिनुभयो ।

धान रोपाइँमा किसानलाई चाहिने डीएपी, पोटास नै हो । युरिया मल भएपनि मुख्य मल डीएपी अभावले मल बिना नै धान रोपाइँ गर्न बाध्य भएका छन । जिल्लमा ७० हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *