बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो (अपडेट)

काठमाडौं । केही दिनेखिको लगातारको वर्षा पछि आएको बाढी पहिरो तथा डुवानमा परी ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । नेपाल प्रहरीका अनुृसार अपरान्ह ४.३० बजे सम्म प्राप्त तथ्याङ्क अनुसार ३८ जना घाइते हुनेका साथै २६ जना वेपत्ता रहेका छन् ।

सप्तकोशीमा पानीको तह घट्यो

सप्तकोशी नदीमा पानीको बहाव घटेको छ । बिहीबारदेखिको लगातार वर्षाका कारण शनिबार राति ३ लाख ७५ हजार क्युसेकभन्दा बढी पुगेको पानीको तह आइतबार बिहान ८ बजे तीन लाखभन्दा तल झरेको हाे ।
शनिबार मध्यरातमा लिइएको आँकडामा कोशीमा पानीको तह ३ लाख ७९ हजार क्युसेक थियो । तर, आइतबार बिहानको आँकडामा पानीको तह करिब एक लाख क्युसेकले घटेको छ । सो अनुसार कोशीमा दुई लाख ६४ हजार क्युसेक पानी बगिरहेको छ । बिस्तारै वर्षामा कमी आएकोले कोशी नदीमा पानीको तह घट्दै गएको हो ।

सप्तरीमा १५ सय घर डुवानमा, तीन सय विस्थापित

यसैबीच वर्षाका कारण आएको बाढी तथा डुवानका कारण सप्तरीमा एक हजार पाँच सय घर डुवानमा परेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले करिब तीन सय परिवार विस्थापित भएको जानकारी दिनुभयो ।
हालसम्म सप्तरीमा मानवीय क्षति नभएको र विस्थापित तथा डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा ल्याइसकिएको उहाँले बताउनुभयो । सप्तरीको खाँडो खोलाले डुबानमा पारेको तिलाठी–कोइलाडी क्षेत्रका करिब तीन सय परिवारलाई नेपाली सेनाको टोलीले शनिबार मध्यरातमा सुरक्षित स्थानमा सारेको छ । स्थानीयको अवरोधका कारण सो क्षेत्रमा बाँध बनाउन नसक्दा वर्सेनि डुवानमा पर्दै आएको छ । यस वर्ष पनि खाँडो खोलामा आएको बाढीका कारण उक्त क्षेत्र पूरै डुवानमा परेको हाे।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *